नेपालगन्जमा फाल्गुन ६ देखि १० गतेसम्म महिला उद्यमी प्रदर्शनी


नेपालगन्ज – महिला उद्यमी संघ नेपाल, बाँकेले फाल्गुन ६ देखि १० गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गर्ने भएको छ ।
संघले हरेक वर्ष नै यस्तो प्रदर्शनी गर्ने गर्दछ । यो नवौं संस्करण हो । बागेश्वरी मन्दिर पसिरको चिल्डे«न पार्कमा प्रदर्शनी हुँदैछ । प्रदर्शनीलाई भब्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिसकिएको कार्यक्रम संयोजक एवं प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् ।
गाउँ तथा शहरमा भएका महिलालाई आफ्नो सीप, क्षमता र स्थानीय बस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको कार्यक्रम संयोजक सिंहको भनाई छ । प्रदर्शनीले महिलाले उत्पादन गरेका बस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणका लागि अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।
नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम, सल्यानलगायत जिल्लाबाट आएर महिलाले आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने बताइएको छ । प्रदर्शनीमा करिव ६० वटा स्टलमा एक सय ५० भन्दा बढी उद्यमीले आफ्नो उत्पादनको बिक्री तथा प्रचार प्रसार गर्ने संयोजक सिंहले जानकारी दिइन् ।
प्रदर्शनीमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, मह, हातले बनाइएका जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डालगायत बस्तु रहने छन् ।
नवौं संस्करणलाई थप प्रभावकारी बनाउन यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । प्रदर्शनीको दौरानमा फाल्गुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिने छ । यसमा महिला उद्यमीको संभावना र चुनौतीका विषयमा सरोकारवाला र विज्ञसंग संवाद हुनेछ । फाल्गुन ८ गते युवा उद्यमशीलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फाल्गुन ९ गते सफल महिला उद्यमीको अनुभव आदान प्रदान र सम्मान कार्यक्रम गर्ने तयारी भएको छ ।
प्रदर्शनीको महत्वपूर्ण आकर्षणको रुपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारलाई प्रवद्र्धन गर्नका लागि स्टलहरु राख्ने तयारी भएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा करिव १५ हजारले अवलोकन गर्ने आकलन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !