पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समीट हुँदै
नेपालगन्ज – फोर एच नेपालको समन्वय तथा एशिया फोर एच नेटवर्कको आयोजनामा पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समीट काठमाडौंमा हुने भएको छ ।
एशिया फोर एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थी र फोर एच नेपालका अध्यक्ष विष्णुप्रसाद बेल्वालेले नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै २०८२ मंसीर ७ देखि ११ गतेसम्म काठमाडौंमा पाँचौ फोर एच इन्टरनेशनल ग्रीन समीट हुने जानकारी दिएका हुन् ।
समीटमा विश्वका २४ देशका १ सय ५० जनाभन्दा बढी सहभागी हुने अवस्थीले बताए । समीटमा फोर एच संस्था, फोर एच क्लव, विश्वविद्यालय, अन्तर्राष्ट्रिय दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, खोज अनुसन्धान संघ संस्था तथा व्यक्ति, विज्ञ, अभियान्ताको प्रतिनिधित्व हुने फोर एच नेपालका अध्यक्ष बेल्वासले जानकारी दिए ।
समीटमा अन्तर्राष्ट्रिय कार्यशाला, समानान्तर कार्यक्रम, कार्यपत्र सेसन, माउन्टेन फ्लाइट तथा काठमाडौं टुर तथा फिल्ड भिजिट हुनेछ । समीटमा हिमालयन खाना महोत्सव, एशिया ग्रीन सेमिनार, सांस्कृतिक कार्यक्रम गरेर अन्तिम दिन एशिया ग्रीन घोषणा जारी गरी तीन वर्षका लागि एशिया फोर एच नेटवर्कको नेतृत्व चयन गर्ने बेल्वासेले बताए ।
फोर एच नेपालले विगत १० वर्षदेखि नेपालमा युवा, उद्यमशीलता, जलवायु परिवर्तन, कृषि तथा नीति पैरवीमा काम गरिरहेको छ । फोर एच विश्वका ५२ वटा देशमा सक्रिय रुपमा काम गरिरहेको छ भने सदस्यताका हिसावले ७१ वटा देशमा फैलिएको छ । हाल फोर एचमा २ करोड ६० लाख बढी सदस्य रहेको बताइएको छ ।