पत्रकारकाे सद्भाव वनभाेज

नेपालगन्ज – नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम’ गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा-५ नानापुरस्थित सिद्धिविनायक लायन्स पार्कमा शनिबार वनभोज कार्यक्रम गरिएको हो । लामो समयदेखि निरन्तरता पाउन नसकेको पिकनिक संस्कृतिलाई नयाँ कार्यसमितिले यस बर्षदेखि फेरि सुरुवात गरेको छ ।

शाखाका सदस्य एवम् क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थितिमा आयोजित वनभोज कार्यक्रममा प्रमुख अतिथिका रुपमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले महासंघको नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालय भवनको माथिल्लो तलामा सेमिनार हल बनाइदिने घोषणा गरेका छन् । उनले स्थानीय सरकारका नाताले पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

चौधरीले स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रबद्र्धनका लागि महासंघ बाँके शाखाले डुडुवा गाउँपालिका क्षेत्रलाई रोजेको भन्दै खुसी ब्यक्त गरे । उनले पर्यटन प्रबद्र्धन तथा ब्यवस्थापनका लागि पालिकाले विशेष योजनाका साथ काम गरिरहेको बताए । उनले त्यसक्रममा डुडुवा गाउँपालिकाले सम्पादन गरेका महत्वपूर्ण कामहरुको बारेमा समेत पत्रकारहरुलाई जानकारी गराएका थिए । जनताको घरदैलोमै सेवा दिइरहेको डुडुवा गाउँपालिकाले २०७९ मंसिर १ गतेदेखि पशुपालक किसानलाई घर-घरमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य कार्ड लागू गरेको जनाएको छ । पशु विरामी भए पशु स्वास्थ्यकर्मी घर-घरमा पुग्छन् ।

चौधरीले २०७४ फागुन १ गतेदेखि पशु नश्ल सुधार कार्यक्रम लागू गरेर हालसम्म ९ हजार पाडापाडी र बाच्छाबाच्छी जन्मिइसकेको बताए । उनले आफ्नो पहिलो कार्यकालको सुरुवातमै यो कार्यक्रम लागू गरेका थिए । उनको यो दोस्रो कार्यकाल हो । यस्तै २०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना लागू छ । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिन्छ । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चाैधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको छ । उनले विद्यार्थीहरुमा सदाचार विकास गर्न नैतिक शिक्षा पनि पढाउन थालिएको जानकारी दिए ।

अध्यक्ष चौधरीले डुडुवाको हिरमिनिया आलुको पकेट क्षेत्र भएकाले भण्डारणका लागि ७ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर पनि सञ्चालनमा आइसकेको बताए । जनतालाई कसरी प्रत्यक्षरुपमा धेरै भन्दा धेरै सेवा दिन सकिन्छ भनेर आफू निरन्तर लागिपरेको अध्यक्ष चौधरीको भनाई छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले राम्रो अभ्यासको सुरुवात गरेको बताउँदै सहकार्यका लागि डुडुवा गाउँपालिकालाई धन्यवाद दिए । अन्य मोडेलमा महासंघसंग सहकार्यका लागि पनि उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले स्थानीय पर्यटकीय स्थलहरुको प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भनेर डुडुवा-५ नानापुरस्थित पार्कमा ‘पत्रकार सद्भाव वनभोज कार्यक्रम’ आयोजना गरिएको बताए । उनले पर्यटन प्रबद्र्धनमा मिडियाले भूमिका खेल्ने बताउँदै स्थानीय सरकारले पर्यटकीय स्थलहरुको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताए । गिरीले जिल्लाका स्थानीय सरकारहरुसंग सहकार्य गरेर आगामी दिनमा विभिन्न तालिम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए । उनले निरन्तररुपमा विभिन्न कार्यक्रम र क्रियाकलाप सञ्चालन गरेर संस्थालाई क्रियाशील बनाइने बताए ।

सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष एवम कार्यक्रम संयोगक करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । त्यसक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसंगै नाचगान समेत गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !