फाल्गुन ५ देखि नेपालगन्जमा १४ औं चरणको हात्तीपाइले रोगविरुद्धको अभियान


नेपालगन्ज – नेपालगन्जमा फाल्गुन ५ गतेदेखि १४ औं चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान सञ्चालन हुँदैछ । जिल्लाको आठ वटामध्ये चार वटा पालिकामा अभियान सफल भइसकेको छ ।
नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा राम्रो कभरेज नभइरहेपछि पुनः औषधी सेवन गराउन थालिएको हो । डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा फाल्गुन ७ देखि अभियान सञ्चालन गर्ने तयारी रहेको छ ।
यस क्षेत्रको ठूलो शहर, व्यापारिक केन्द्र, शैक्षिक र स्वास्थ्यको हब मानिने नेपालगन्जमा अभियान असफल भएपछि त्यसले राष्ट्रिय अभियानलाई नै प्रभावित पारेको छ ।
नेपालगन्जमा हात्तीपाइले रोगविरुद्धको औषधी खानेले खाइरहने र नखानेले खादै नखाइदिएपछि अभियानलाई प्रभावित पारेको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताए । पढेलेखेका व्यक्तिको बढी बसोबास भएको नेपालगन्जमै अभियान फेल भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागका अधिकारी नेपालगन्ज केन्द्रित भएका छन् ।
एक महिने अभियानमा नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवा गाउँपालिकामा ४२ हजार ३ सय ६९ जना, नरैनापुर गाउँपालिकामा ४२ हजार १ सय ७४ जना र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा ९ हजार ३ सय ६४ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, बाँकेकी फोकलपर्सन दुर्गा गौतमले जानकार दिइन् ।
नेपालगन्ज उपमहानगरपालिकामा अहिलेसम्म औषधी नै नखाएका १८.४५ प्रतिशत रहेका छन् । नेपालगन्ज, डुडुवा र नरैनापुर गाउँपालिकामा अहिले १.८ प्रतिशत फाइलेरिया रहेको छ ।
नेपाललाई सन् २०२० मा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखिएको थियो । त्यसमा नसकिएपछि अहिले सन् २०३० मा निवारण गर्ने लक्ष्य राखिएको छ । सन् २०३० मा निवारण गर्न सन् २०२५ मा भित्रै आम औषधीको काम सक्नु पर्छ । नेपालगन्जमा भनेजस्तो सजिलो हुने देखिएको छैन ।
सरकारले एक लाख मानिसलाई औषधी खुवाउदा एक करोड रुपैया खर्च गरिरहेको छ । बिरामी हुँदा त्यही औषधी किनेर खानेहरुले अभियानका क्रममा खाने गरेका छैनन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले घरघरमा विश्वास दिलाउन नसक्दा औषधी सेवन नगरिएको बताए । निर्देशक डा. घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोको टीम नेपालगन्जमा पूर्वतयारीका लागि आइपुगेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !