लाखौं ठगिएर घर न घाटका भए रामचन्द्र

नेपालगन्ज – बाँके खजुराका रामचन्द्र मुराउ दुई जना आफन्तीलाई निशुल्क विदेश पठाउने लोभमा परेर लाखौं रुपैया ठगिएका छन् । दाई र सालालाई फ्रिमा विदेश पठाउने लोभमा परेका रामचन्द्रलाई दलालले घर न घाटको अवस्थामा पु¥याइदिएका छन् ।
रामचन्द्रका अनुसार, खजुराका सन्तोषकुमार विक र गौरीलाल विश्वकर्मा, जानकीका निसान भन्ने टेकबहादुर विक र धर्मराज हरिजनले सुन्दरविहानी युवा क्लव र खुल्ला चौपाय संरक्षण तथा व्यवस्थापन संस्थाबाट भिसा मिलाएर युवालाई विदेश पठाइदिने भन्दै युवा खोज्न लगाए । युवा खोजेवापत दाई र सालालाई फ्रिमा मलेसिया पठाइदिने आश्वासन दिइयो । दाई र सालालाई पैसा नतिरेर मलेसिया पठाउने लोभमा परेर रामचन्द्रले गाउँमा विदेश जाने युवा खोजे । एकजनासँग २५ देखि ३० हजार उठाएर रामचन्द्रले ३७ जना जम्मा पारे । डेढ महिनामा भिसा आउने र दुई महिनामा उडाउने बताएका दलालले यो अवधिमा नउडाएपछि रामचन्द्रले शंका गरे । त्यसपछि दलालले विश्वास दिलाउन ३७ जनाको मेडिकल गराए । रामचन्द्रलाई विश्वास दिलाउन र आफ्नो पहुँच नेताहरुसँग छ भनेर देखाउन काठमाडौं लगे । काठमाडौं लगेर उनीहरुले रामचन्द्रलाई राखेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, प्रकाश ज्वाला, बेदुराम भुसालसँग फोटो खिँचाए ।
ठूल्ठूला नेतासँग भेटाएपछि रामचन्द्रमा विश्वास पलायो । रामचन्द्रलाई अरु युवा खोज्न दलालले लगाए । गाउँमा राइसमिल चलाएर बसेका सोझो रामचन्द्रले विदेश जाने अरु युवा खोज्न थाले । यही बेला त्यही दलालसँग सम्पर्कमा रहेका मतिन खाँले पनि विदेश जाने युवा खोजे । मतिनले खोजेका ८२ जना युवाको पनि काठमाडौं लगेर मेडिकल गराइयो ।
रामचन्द्रले विस्तृतमा बताए, विदेश जान इच्छुक युवा खोज्दै उनीहरुसँग पैसा उठाएर दलाललाई दिदै गए । दलालले अरु युवा खोज्न लगाउदै गए । विदेश जान नपाएपछि पैसा बुझाएकाहरु आक्रोशित भए । सबैले आएर रामचन्द्रलाई कराउन थाले । मतिनले पैसा उठाएका युवा पनि रामचन्द्रलाई समात्न आइपुगे । जबकी मतिनले पैसा उठाएकासँग उनको कुनै सम्पर्क थिएन । मतिन पैसा उठाएर जापान भागे । मतिनले कति जनासँग पैसा उठाएका छन्, थाहा पनि छैन ।
बिस्तारै दलाल रामचन्द्रको सम्पर्कमा आउन कम गर्दै गए । यता पैसा दिएकाहरुले रामचन्द्रलाई आउदै धम्की दिने गर्न थाले । यो बीचमा दलालले रामचन्द्रलाई ५ लाखको चेक दिए । त्यो पनि साटिएन । यता युवाले रामचन्द्रलाई कुटपिट गर्न थाले । केही उपाय नलागेपछि रामचन्द्रले बैंकबाट पैसा निकालेर र केही ४ प्रतिशत ब्याजमा खोजेर एक सय ४६ जनाको पैसा तिरे, ४२ लाख बढी । अझै पनि युवाहरु आफ्नो पैसा फिर्ता गर्न भन्दै आइरहेका छन् । अपहरण गर्ने, मार्ने धम्की दिइरहेको रामचन्द्र बताउँछन् ।
यो सबै घटना २०८० भदौदेखिका हुन् । युवालाई नगद पैसा ४२ लाख बढी बुझाएका रामचन्द्रको दलालले काठमाडौंमा नेतासँग भेट गराउन जादा, युवालाई मेडिकल गर्न जादा गरेर लाखौं रुपैया सिध्याइदिए । रामचन्द्र थप्छन्, ‘काठमाडौं जादा प्लेन भाडा मैले नै तिर्थे । काठमाडौंमा एक डेढ÷महिना बस्दा सबै मलाई नै तिराउँथे । सबै गर्दा ६० लाख हाराहारीमा खर्च भइसकेको छ ।’
दलालले ठगेको भन्नेमा पूर्णविश्वस्त भइसकेपछि रामचन्द्र प्रहरीमा उजुरी दिन गए । प्रहरीले पहिला वास्ता गरेन । जिल्ला प्रशासन कार्यालयमा गए । त्यहाँबाट आवश्यक कारबाही गर्न भन्ने पत्र आयो । प्रहरीले दलाललाई पक्राउ नगरेपछि रामचन्द्रले साथीभाई लगाएर सन्तोषलाई समातेर प्रहरीमा बुझाए । सन्तोष समातिएपछि अरु तीन जना आफै प्रहरीकहाँ उपस्थित भए । उनीहरुलाई खजुरा गाउँपालिका वडा नं. ५ का अध्यक्ष गरिवे शेष, रक्षाराम बर्मा र राजकुमार बर्माले जमानी बसेर प्रहरीबाट निकाले । प्रहरी कार्यालयबाट निस्किदा उनीहरुले रामचन्द्रलाई विभिन्न मितिको २७ लाखको चेक दिए । त्यो पनि अहिलेसम्म साटिएको छैन । चेक बाउन्समा सबै प्रमाण लिएर जादा प्रहरीले रामचन्द्रलाई आज र भोली भन्दै फिर्ता पठाइदिने गरेका छन् । ‘म ६ महिनादेखि प्रहरी कार्यालयमा धाइरहेको छु । मेरो कुनै सुनुवाई नै भएको छैन, रामचन्द्र भन्छन्, सानो लोभमा फस्दा म घर न घाटको भए । उद्धार गरिदिनु प¥यो ।’
प्रहरीले उजुरी लिएर कारबाही नगरेपछि उनी कैयौ पटक कार्यालयमा पुग्दा एक जना घुमुवा उनको पछि लागिरहेका रहेछन् । उसले रामचन्द्रको काम गरिदिने आश्वास दिने गरेका थिए । रामचन्द्रका अनुसार, एक दिन मदिरा खुवाउन लगाएर ती घुमुवाले रामचन्द्रको मोबाइल लुकाइदिए छन् । मोबाइल हराएको बहाना बनाएर ती प्रहरीले रामचन्द्रसँग मोबाइलमा रहेको सबै प्रमाण नष्ट गरेर दुई महिनापछि बर्दियामा मोबाइल भेटिएको भन्दै दिएछन् ।
दलालले विभिन्न मितिमा दिएको बाउन्स चेक र आफूले उठाएको भन्दा कयौ गुणा बढी रकम युवाहरुलाई फिर्ता गरिसकेका रामचन्द्रले अहिले दैनिक दलालका मान्छेबाट धम्की आइरहेको बताए । खजुरामा पत्रकार सम्मेलन गरेर रामचन्द्रले आफ्नो पैसा फिर्ता गराइदिन गुहार मागेका छन् । उनी अहिले दलालले विभिन्न मितिमा दिएको ३४ लाखको खाली चेक लिएर हिडिरहेका छन् । अर्कोतिर, आफ्नोविरुद्ध प्रहरीमा गएको भन्दै दलालले धम्की दिइरहेका छन् ।

आफन्तीबाट ठगिइन् मिनाकुमारी
खजुरा गाउँपालिका वडा नं. २, रिमझिमचोकी मिनाकुमारी सुनार आफन्ती नै पर्ने गौरीलाल विश्वकर्माबाट ठगिएकी छन् ।
रामचन्द्र मुराउलाई ठगेका गौरीलालले मिनाकुमारीबाट पनि एक लाख रुपैया ठगेको पाइएको हो । मिनाकुमारीका अनुसार, गौरीलाल उनको फुपुको कान्छो ससुराको छोरा हुन् । गौरीलालले आफ्नो छोरालाई सशस्त्र प्रहरीमा जागीर लगाइदिने बताएर एक लाख रुपैया लगेका थिए । न त छोरालाई सशस्त्र प्रहरी बनाइयो, न त पैसा नै फिर्ता गरिएको छ ।
२०८० भदौ २१ गते मिनाकुमारीले गौरीलाललाई एक लाख रुपैया दिएकी थिइन् । छोरालाई सशस्त्र प्रहरी नबनाइएपछि उनी पैसा माग्न गइन् । गौरीलालले ५० हजारको चेक दिए । त्यो चेक साटिएन । खातामा पैसा नै थिएन । उनले इलाका प्रहरी कार्यालय, धनौलीमा चेक बाउन्समा उजुरी दिएकी छन् । कुनै सुनुवाई भएको छैन ।


error: यो सुविधा उपलब्ध छैन !