सार्वजनिक स्थानमा औषधिजन्य फोहोर फाल्नेलाई २५ हजार जरिवाना

नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फाल्ने सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
नेपालगन्ज वडा नम्बर १०, शितलनगरस्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई आज २५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए ।

‘नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला ब्यवस्थापन ऐन २०७५’ बमोजिम जरिवाना गरिएको हो । नगर प्रहरी र स्वास्थ्य महाशाखाको टोलीले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फालेको पाएपछि जरिवाना गरेको हो । नगर प्रहरी प्रमुख बोगटी, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, फार्मेसी अधिकृत डा. अस्मित आचार्य, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजिया सहितको टोली अनुगमनमा गएको थियो ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही गर्दै जरिवाना गरिरहेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए । फोहोर फाल्नेलाई ठाउँको-ठाउँ कारबाही गरिरहेको बताउँदै उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सभा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !