पार्टी नेतृत्व टिको लगाएर दिने पद होइन : प्रचण्ड


नेपालगन्ज – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व टिको लगाएर दिने पद नभएको बताएका छन् ।
प्रेस सेन्टरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व आन्दोलन, इतिहासको मूल्यांकनबाट तय हुने बताए । उनले सधैं आफैमात्रै नेतृत्व बसिरहने नभई सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको बताए । ‘जनभावनाले गर्दा ३५÷३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु । अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु, अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले माओवादी फुट्दैछ भन्ने हल्ला निराधार रहेको बताए । उनले अहिलेको सरकारले आफूहरुलाई पेलेर जाने भएकाले पार्टीलाई सुदृढ गर्दै समाजवादी मोर्चालाई बलियो बनाएर विचार मिल्नेसँग एकता गर्ने बताए ।
प्रचण्डले वर्तमान सरकार विचौलियाको सरकार भएको टिप्पणी गरे । उनले यो सरकारलाई असंवैधानिकसमेत भने । संविधानको धारा ७६ (२) को सरकारले बहुमत नपाएपछि धारा ३ मा जानु पर्नेमा बल मिचाई गरेर यो सरकार बनेको प्रचण्डको टिप्पणी थियो । उनले वर्तमान सरकार कांग्रेस र एमालेको नभई बाहिरबाट बनेको बताए ।
अध्यक्ष प्रचण्ड पार्टीको प्रशिक्षणका क्रममा नेपालगन्ज आइपुगेका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !