खरको छाना हटाउन पहिलो किस्ता धेरै कम दिएपछि…


नेपालगन्ज – खरको छाना बिस्थापित गर्न संघीय सरकारले सुरक्षित आवास कार्यक्रम अगाडि सारेको छ । खरको छाना भएका व्यक्तिलाई ७५ हजार रुपैया दिने गरेको छ ।
२०७९ सालमा राप्तीसोनारी गाउँपालिकाको वडा नं. १, कुसुममा ४० घर छनौट गरिएको थियो । २०८० मा त्यसमध्येमा ३७ घरका व्यक्तिसँग सम्झौता गरेर खाता खोलियो । २०८१ को असार मसान्तमा आएर पहिलो किस्ता ११ हजार ७ सय रुपैया पठाइयो । ७५ हजार दिने कार्यक्रममा पहिलो किस्ता ४५ हजार दिनु पर्ने रहेको छ । पहिलो किस्ता नै पूरा नदिएपछि खरका छाना भएका व्यक्ति के गर्ने, कसो गर्नेमा छन् ।
वडाध्यक्ष यमबहादुर खड्काका अनुसार, पहिलो किस्ता कम पठाइदिंदा लाभान्वित व्यक्तिले कामलाई अगाडि बढाउन सकेका छैनन् । पहिलो किस्ता कम दिएपनि दोस्रो किस्ता छिटो पठाइदिए सम्झौता गरेका व्यक्तिले छिटो काम गर्न सक्ने वडाध्यक्ष खड्काको भनाई छ ।
राप्तीसोनारी गाउँपालिकामा खरको छाना भएका ४सय ५० घरमध्ये ४ सय २८ घरले सुरक्षित आवाससँग सम्झौता गरेका छन् । सबैलाई पहिलो किस्ता ११ हजार ७ सय आएको छ ।
त्यसो त वडा कार्यालय आफैले खरको छाना हटाउने अभियान थालेको छ । आर्थिक वर्ष ०७९-८० मा वडा कार्यालयले २० लाख ५० हजार रुपैया छुट्याएर ६५ घरलाई जस्तापाता वितरण गरेको थियो । आर्थिक वर्ष ०८०-८१ म १५ लाख रुपैया छुट्याएर ४६ घरमा खरको छाना विस्थापित गरिएको थियो । चालु आर्थिक वर्षमा १७ लाख ५० हजार रुपैया छुट्याइएको र ५३ घरको खरको छाना हटाउने वडाध्यक्ष खड्काले बताउनुभयो ।
वडा नं. १ मा तीन सय घर खरको छाना भएका छन् । सुरक्षित आवास कार्यक्रममा परेकालाई वडाले सहयोग गरेको छैनन् । वडाले आफूले छनौट गरेका घरलाई दश फुटे २२ जस्तापाता वितरण गर्ने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !