सर्वर नचल्दा र फिंगरप्रिन्ट नमिल्दा समस्या


नेपालगन्ज – सर्वर नचल्दा राष्ट्रिय परिचयपत्र नविकरणमा समस्या भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १, कुसुमका जेष्ठ नागरिकले दुःख पाएका छन् ।
बिहान र बेलुका अलिअलि चलेपनि दिउँसो कार्यालय समयमा सर्वरले काम नगरेको वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । गएको शुक्रबारदेखि वडाले जेष्ठ नागरिकको राष्ट्रिय परिचयपत्र नविकरणको काम थालेको थियो । अहिलेसम्म २६ जनाको मात्रै नविकरण गरेको छ । कुसुममा जेष्ठ नागरिक, एकल महिला, अपाङ र दलित बालबालिका गरी ६ सय ४२ जना सेवाग्राही छन् ।
जन्म मिति, रसिद काट्ने, बसाई सराईको काम गर्दा सर्वर चलेको छ । राष्ट्रिय परिचयपत्रको नविकरणमा समस्या आइरहेको छ । वडाका दूरदराज गाउँबाट आएका जेष्ठ नागरिक काम नभएपछि फर्किनु परेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नचाहिने भनेपनि सफ्टवेयरमा अनिवार्य रहेकाले सर्वर नचल्दा समस्या भएको वडाध्यक्ष खड्काले बताए ।


वडा कार्यालयले टोलटोलमा पत्राचार गरेर जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र नविकरणका लागि आउन खबर पठाएको छ । त्यही अनुसार नै जेष्ठ नागरिक सकी नसकी वडा कार्यालयमा आउने गरेका छन् । तर, दिनभरी बस्दा पनि काम नभएपछि त्यसै फर्किनु परेको छ ।
सर्वरको समस्या अन्यत्र पनि रहेको छ । केही वडाले विहानै र राती जेष्ठ नागरिकलाई बोलाएर राष्ट्रिय परिचयपत्र नविकरण गरिरहेका छन् । विगतमा जेष्ठ नागरिकको फिंगर प्रिन्ट लिदा राम्ररी नलिइएकाले थप समस्या सिर्जना गरेको छ । सर्वर चलिहाल्दा दश वटै फिंगर प्रिन्टलाई लगाउदा पनि एउटाको मिलेको छैन । भदौको तेस्रो सातासम्ममा नविकरणको काम सक्न भनिएपनि सर्वरका कारण काम सकिनेमा वडाध्यक्ष खड्का चिन्तित देखिन्छन् ।


error: यो सुविधा उपलब्ध छैन !