राप्ती नदीको तटीय क्षेत्रमा पुग्दा…
नेपालगन्ज – लगातार पानी परेपछि राप्ती नदीमा पानीको सतह बढ्यो । शनिबार राती ८ मिटर (खतराको तहमाथि) पुगेको पानी विहानतिर घट्दै गयो ।
राप्तीमा पानीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दाले कसरी रात बिताए ? राप्ती नदीमा बाढी आउदा सिधैं ठोक्किने होलियाका गाउँको अवस्था कस्तो होला ? यस्तै–यस्तै जिज्ञाशा मनमा राख्दै होलियाका विभिन्न गाउँ पुगियो ।
पिप्रहवा, टेपरी, सिम्रहना गाउँमा पुग्दा बाढीको कुनै असर देखिएन । हुन त राप्ती नदीले धार बदलेपछि यी गाउँले डुवानबाट मुक्ति पाएका छन् । अहिले गाउँ नजिकबाट डुडुवा खोला बग्छ । डुडुवाले राप्ती नदीको उग्ररुप देखाउन सकेको छैन । डुडुवाको भंगालोले नदी यतैबाट बग्दा बनाएको तटबन्ध र सडक पार गर्न सक्ने देखिदैन । सडक पार नहुने भएपछि गाउँमा डुवानको असर पर्ने कुरा भएन ।
आइतबार गाउँका स्थानीय डुंगामा बसेर दाउरा टिप्न जादै थिए । कोही भैसीलाई डुडुवा खोला पार गराउदै थिए, चराउन लगेका रहेछन् । नेपालगन्ज शहरमा चर्चा भएको डुवानको त्यहाँ एकरक्ति प्रभाव देखिदैनथ्यो । जनजीवन सामान्यजस्तै थियो, उस्तै दैनिकी ।
स्थानीय बड्कौ यादवले राप्ती नदीले धार परिवर्तन गरेपछि टेपरी, सिम्रहना, पिप्रहवा गाउँ डुवानको जोखिममा नरहेको बताए । ‘डुडुवा खोलाको भंगालो आउँछ । यसले नदीले जस्तो असर पु¥याउन सक्दैन, यादवले भने ।’
नदीले धार परिवर्तन गरेपछि कृषि चौफेरी, छिटैपुरुवा, रामनगर पाजा, बोर्डर पाजामा असर पु¥याएको छ । यी गाउँलाई राप्ती नदी र डुडुवा खोलाले घेरेको छ । डुवानको जोखिम रहेको यी गाउँमा जान डुंगा या हेलिकोप्टरको प्रयोग गर्नुपर्छ । टेपरीका स्थानीयले बताए अनुसार, त्यहाँ पनि सबै सुरक्षित छन् ।
तटीय क्षेत्रमा वर्षौदेखि डुवान, पटान र कटानको समस्या छदैछ । नदीमा पानीको बहाव बढ्दा नेपालगन्जका सम्बद्ध निकायका अधिकारीको मनमा बाढी आउँछ, गाउँका मानिसलाई त्यसको मतलव भएको पाइदैन । उनीहरु आफ्नै दैनिकीमा हुन्छन् । एकप्रकारले भन्ने हो भने गाउँका मानिस बाढी, डुवानबाट अभ्यास्त छन् । नदीमा पानीको सतह ८ मिटर नाघ्दा प्रहरीले घरघरमा गएर अन्यत्र जाम भन्दा कतै नगएको विगत छदैछ ।
सन् १९८५ मा भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, सन् २००० मा कलकलवा तटबन्ध र अझै बनाउदै गरेको दशगजामा सडकजस्तो पक्की बाँधले नेपालबाट बग्ने नदी, खोला नालाको पानीको प्राकृतिक बहाबलाई रोक्ने गर्दछ । लक्ष्मणपुर बाँध बनेदेखि नेपालका विभिन्न गाउँ डुवानमा पर्दै आएका छन् । राप्ती नदीको दुवै किनारामा पक्की तटबन्ध नबनाएसम्म यस्ता डुवान, पटान र कटान हुँदै गर्ने जानकारहरु बताउँछन् ।