कोहलपुर रेसिङ साहाराको सहज जित


कोहलपुर – कोहलपुर रेसिङ साहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सोमबार भएको खेलमा कोहलपुर रेसिङ साहाराले कारकादो युवा स्पोर्टस क्लबलाई ४–१ ले पराजित गरेको छ ।
बाँकेको कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गरे । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६०औं मिनेटमा गोल गरेका थिए ।
कारकादोका लागि सुदिप केसीले ५२औं मिनेटमा गोल गरेका थिए। खेलमा कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशंक्ति नमुना आधारभुत विद्यालयका प्रअ बद्रीनाथ सापकोटाले पुरस्कार प्रदान गरेका थिए।

सोमबार भएको अर्को खेलमा मिलन युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबिचको खेल १–१ बराबरीमा सकिएको छ ।
बराबरीमा सकिएपछि दुबै टिमले अंक बाँडेका छन् । सुरुआतमै नवदुर्गाले खेलमा अग्रता लिएको थियो । नवदुर्गाका शंकर दमाईले ६ मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर २३औं मिनेटमा मिलन युवाका सरोज केसीले गोल गर्दै खेल बराबरी गरे । बराबरी गोल गर्ने सरोज सोमबार बिहानको खेलको प्लेयर अफ द म्याचको रुपमा पुरस्कृत भए । उनलाई समाजसेवी अर्जुन जंग शाहले पुरस्कृत गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिता असारको १३ गतेसम्म चल्ने छ ।


error: यो सुविधा उपलब्ध छैन !