काेहलपुर पूर्ण खाेप सुनिश्चितता तथा दीगाेपना घाेषणाा

कोहलपुर – कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति, बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मंगलवार औपचारिक रुपमा कोहलपुरलाई पूर्ण खोप सुनिश्चिततता तथा दिगोपना घोषणा गर्नुभएको हो । कोहलपुर नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनु भएका चौधरीले सबै बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका अथक प्रयासले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको पनि उल्लेख गर्नुभयो । स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा खोप रहेको औल्याउँदै प्रमुख चौधरीले कतिपय समुदायमा अझैपनि खोपप्रतिको धारणा फरक रहेको भन्दै उनीहरुलाई पनि खोपको महत्व र आवश्यकताबारे बुझाउनुपर्ने बताउनुभयो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले खोपको आवश्यकता र महत्वबारे अभिभावकहरुलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नियमित खोपका कारण जीवनको आयु लम्विने भएकाले त्यसकोबारेमा आम अभिभावकहरुलाई जानकारी गराउनुपर्ने बताउनुभयो । पूर्ण खोप घोषणामा स्वास्थ्यकर्मीको लगानीलाई कोहलपुर नगरपालिकाले मूल्यांकन गरेको पनि उल्लेख गर्नुभयो । छुटेका बालबालिकाहरुले समेत खोप पाएकाले नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताउनुभयो । खोप नपाउने बच्चा अपांगता हुन सक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने उहाँको भनाइ छ । खोप कार्यक्रम प्रभावकारी गराउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने प्रमुख शाहीले बताउनुभयो । कोहलपुर नगरपालिकामा खोप लगाउन छुटेका २६ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले बताउनुभयो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यकारी अधिकृत विक्रम पाण्डे, कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष लालबहादुर राना, सामाजिक विकास समितिका संयोजक इश्वरी विक, वडा नं.२ मा रहेको स्वास्थ्य चौकीका ईन्चार्ज लिलाबहादुर बुढाथोकी, महिला स्वास्थ्य स्वयंसेविका भगवती बस्नेत लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, कोहलपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नं.१३ का वडाअध्यक्ष डम्वर खड्का, डब्लु.एच.ओ.का प्रतिनिधिहरु डा. प्रस्तुती शर्मा, सरला न्यौपाने, विभिन्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । कोहलपुरसँगै अव बाँकेका ८ वटा पालिकामध्ये ४ वटा पालिका कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । खजुरा, जानकी र बैजनाथ गाउँपालिका यसअघि नै कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !