३९० घण्टे वाइरिङ तथा प्लम्बिङ तालिम

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले युवाहरुलाई स्वरोजगार र उद्यमशील बनाउन ‘३९० घण्टे वाइरिङ तथा प्लम्बिङ तालिम’ दिएको छ । रोजगार सेवा केन्द्रको आयोजनामा नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालि नेपालगन्जले तालिम प्रदान गरेको हो ।

वाइरिङ २० जना र प्लम्बिङ तालिम २० जनालाई दिइएको हो । ४० जना सहभागी तालिमको आज समापन गर्दै नगर प्रमुख प्रशान्त विष्टले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन् । उनले बेरोजगारी न्यूनीकरण गर्न युवालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउन नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न तालिम आयोजना गर्दै आएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापाले सीप सिकेपछि त्यसको उपयोगमा ध्यान दिन आग्रह गरे । रोजगार सेवा केन्द्र प्रमुख मन्जु ज्ञवालीले स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि यस प्रकारका तालिम निकै उपयोगी हुने  बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई ‘एड्भान्स्ड’ तालिम दिने योजना समेत सुनाइन् ।

तालिममा सहभागीहरुलाई नगर प्रमुख विष्टले प्रमाणपत्र प्रदान गरेको रोजगार सहायक अनुप बर्माले जानकारी दिए । कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए ।


error: यो सुविधा उपलब्ध छैन !