स्वास्थ्य शिविरमार्फत मोवाइल एपबाट स्वास्थ्य सेवा प्रवाह
काठमाडौं – “हेल्थ याद आयो” नामक निजी क्षेत्रको संस्थाले कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित पेप्सीकोला एपार्टमेन्टमा शनिबार स्वास्थ्य शिविर अायाेजना गरेकाे छ ।
स्वास्थ्य शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण, दन्त चिकित्सा तथा ल्याव परीक्षण सेवामा पेप्सीकोला एपार्टमेन्टमा भित्र र आसपासका बासिन्दाले सेवा पाएका हुन् ।
विहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा पेप्सीकोला एपार्टमेन्टमा बसोवास गर्ने ८१ जना महिला तथा पुरुषले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका थिए भने एउटै व्यक्तिले मधुमेह, युरिक एसिड, रक्तचाप, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवा लिएका थिए ।
मोवाइल एम स्वास्थ्य सेवाको बारेमा सचेतना फैलाउने उद्देश्यले हरेक शनिबार उपत्यकाका भिभिन्न क्षेत्रमा शिविर सञ्चालन गर्न थालिएको आयोजक संस्थाले जनाएको छ ।
काठमाडौंको वी केयर हेल्थ सेन्टर र सूर्य डाइग्नोष्टिक ल्यावको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचाप र दन्तरोगको परीक्षण निःशुल्क गरिए तापनि विभिन्न किसिमका रोगहरुको लागि रगत तथा पिसाब संकलन र परिक्षणहरु भने तोकिएको दररेट भन्दा कम न्यूनतम शुल्क अर्थात् ६५ प्रतिशतसम्म छुट दिइएको थियो ।
पाँच वर्षको बालकदेखि ८५ वर्षका जेष्ठ नागरिकहरुले सेवा लिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेका सचेतनामूलक प्रवचन दिएका थिए भने “हेल्थ याद आयो” का प्रवन्ध निर्देशक प्रज्वल चुकेले शिविरमा आएका सेवाग्राहीहरुलाई मोवाइल एप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देश भित्र तथा वाह्य मुलुकका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसंग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धि जानकारी दिनु भएको थियो ।
एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो” का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार तथा कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परीक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताउनु भयो ।
“हेल्थ याद आयो” का हेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्य शिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगन्ज लगायत देशका प्रमुख शहरहरुमा सञ्चालन गरेर मोवाइल एपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो ।
शिविरमा “हेल्थ याद आयो” को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा, अनिष श्रेष्ठ र सिमन प्रसाद लगायतले रगत संकलन तथा परामर्श सेवा दिएका थिए ।
सहकार्य गर्ने वी केयर हेल्थ सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा. आयुष्मा ध्वजु, डा. रोजिना जोशी, दिप्ती घिमीरे, श्रृष्टि राई, जानुका पराजुली, अस्तिमा श्रेष्ठ, सुरेन्द्र गौतम, प्रकाश अधिकारी, विशाल चौलागाईं, फुर्वा शेर्पा, सविना न्यौपाने, निरज मल्लले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो भने सूर्य डाइग्नोष्टिक ल्यावको तर्फबाट ल्याव टेक्नीसियन सभ्यता ढकाल र अभिषेक लामाले रगत संकलन र परीक्षण सेवा उपलब्ध गराएका थिए ।