‘सीमावासीसँग सशस्त्र प्रहरी’ अभियान


नेपालगञ्ज – सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ भन्ने अभियान चलाएको छ । अभियानका क्रममा सशस्त्र प्रहरीले नाकामा रहेका स्थानीयसँग घुलमिल गर्नेे र उनीहरुको समस्यादेखि विकास निर्माणका काममा हातेमालो गर्ने रणनीति बनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी, बाँकेका प्रमुख एसपी बिमल डाँगीले शिक्षा, स्वास्थ्यका सवालमा नाकावासीको अवस्था कमजोर रहेको बताउनुभयो । उहाँले नाकामा रहेका बासिन्दका जेहेन्दार छोराछोरीलाई सशस्त्र प्रहरीको स्कूलमा पढाइदिने, स्वास्थ्य शिविरहरु गर्ने, धारा, पानी, विजुली पुगेको छैन भने आफ्नो जनशक्ति लगाएर पु¥याइदिनेजस्ता गतिविधि गर्ने बताउनुभयो । त्यसक्रममा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने १४ वटा वडाका वडाध्यक्ष, त्यहाँका अगुवाहरुसँग छलफल गरिसकेको छ । यताका स्थानीय तहका जनप्रतिनिधिलाई भारतीय ग्राम पञ्चायतका प्रतिनिधिसँग निरन्तर बैठकहरु बस्ने वातावरण मिलाइरहेको छ । यस्तो गर्दा अपराधिक गतिविधि रोक्न दुवै देशका जनप्रतिनिधिदेखि स्थानीय अगुवा लाग्ने, मस्ट वान्टेडहरु यताका उता र उताका यता लुकेर बसेका छन् भने समात्न सहज हुने विश्लेषण गरिएको छ ।
एसपी डाँगीले स्थानीय तहसँग मिलेर तस्करी गरेर जीविकोपार्जन गर्नेको पहिचान गरेर उनीहरुलाई त्यो कामबाट विस्थापित गरेर विकल्प दिनेसमेत तयारी भइरहेको बताउनुभयो ।
सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मा दिइएको छ । उसले पिलरदेखि अपराधिक गतिविधि रोक्ने काम गरिरहेको छ । बाँकेको ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । त्यहाँ ३ सय ११ वटा पिलर छन् । १६ वटा हराएका छन् ।
भौतिक पूर्वाधार र जनशक्तिको कमीले गर्दा सीमामा सशस्त्र प्रहरीको उपस्थिति भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तुलनामा पातालो रहेको छ । बाँकेमा १० वटा विओपी रहेको छ । उता एसएसबीको २३ वटा पोष्ट रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !