डुडुवाका दुई स्वास्थ्य संस्था ‘किशोर–किशोरी मैत्री’ घोषणा


डुडुवा – बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत दुई वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन् । लुम्बिनी प्रदेश मै पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।
नेपाल सरकारले निर्माण गरेको ‘किशोर किशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९’ अनुसार डुडुवाको बेतहनी स्वास्थ्य चौकी र कम्दी स्वास्थ्य चौकीले मुल्याकंनको मापदण्ड अनुरुप घोषणा गरिएको डुडुवाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्देशिका अनुसार ८ वटा मुख्य सूचक र ४५ वटा उपसुचकलाई मुल्याकनका आधारमा दुबै संस्थाले ल्याएको अंकलाई विश्लेषण गरि घोषणा गरिएको हो ।
युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत भेरी बाताबरणीय विशिष्टता समूह बी ग्रुप र केयर नेपालको सहयोगमा किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
स्वास्थ्य संस्थामा सेवा, व्यवस्थापन समितिमा सहभागिता, भौतिक पूर्वाधार संरचना, औजार उपकरण, विभिन्न सेवा प्रवाह, सञ्चार सामाग्री लगायतको विषय र क्षेत्रमा अध्ययन गरि मार्किङ्गका आधारमा सबै सूचक कार्यान्वयन भएको पाइएपछि घोषणा गरिएको छ । डुडुवाका अन्य स्वास्थ्य संस्थाहरुमा मुल्याकन गरि सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्ययोजना निर्माण गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो ।
बुधबार एक समारोहका बीच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले घोषणाको प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा विशेष गरि किशोर–किशोरीको सहभागिताले घरपरिवार र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकाले प्रदान गरिरहेको स्वास्थ्य लगायतका सेवामा सबैको समान रुपमा पहुंच अभिबृद्धिका लागि कार्यक्रम सञ्चालन गरेको हुनाले निर्धक्कका साथ सेवा ग्रहण गर्न सबैलाई आग्रह गर्नुभयो ।
किशोर अवस्था एउटा यस्तो अवस्था हो, यो अवस्थाले भविष्य निर्धारण गर्ने भएकाले स्वास्थ्यको क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा जोड दिदै अध्यक्ष चौधरीले डुडुवाका सबै स्वास्थ्य संस्था, लगायतका कार्यालयहरुमा सबैको बराबर पहुँच र सहभागितामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य संस्थाहरुको विकास, सेवाको गुणस्तरियता र शिक्षा अभिबृद्धिमा किशोर किशोरीहरुको भूमिका अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
घोषणा कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष झंकबहादुर थापा, वडा नं. १ का अध्यक्ष पटेश्वर कुर्मी, स्वास्थ्य कार्यालयका परिवार स्वास्थ्यका फोकलपर्सन विष्णु श्रेष्ठ, युएसएआइडी लुम्विनी प्रदेशका परियोजना अधिकृत भावना पौडेल, केयर नेपालका असरफ अन्सारी, वी ग्रुपका केशव राना लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, समुदायका किशोर किशोरी लगायतको उपस्थिति रहेको थियो ।
डुडुवामा ६ वटा स्वास्थ्य संस्थाहरु रहेका छन । डुडुवाले घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ भने तीन स्थानमा निशुल्क प्रयोगशालाको समेत व्यवस्था गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !