नेपालगञ्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु


नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु भएको छ ।
चार दिने कोचिङ कोर्सको आज एक समारोहको बीच नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । सो अवसरमा मेयर विष्टले खेलाडी उत्पादनमा यो प्रशिक्षक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलाडी उत्पादनका लागि उपमहानगरपालिका लगानी गर्न तयार रहेको बताउदै बाँके जिल्ला फुटबल संघलाई प्रपोजल लिएर आउन आग्रह गर्नुभयो । मेयर विष्टले चाडै नै नेपालगञ्जमा खेलकुद विकास समिति गठन गर्ने जानकारी दिनुभयो ।
एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले सुविधा सम्पन्न रंगशाला भएर पनि नेपालगञ्जमा फुटबल खेल्न नपाएकाले रंगशालामा फुटबल खेल्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो । उहाँले नेपालगञ्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स ल्याउन डेढ वर्ष कुर्नु परेको स्मरण गर्दै यो प्रशिक्षण लिएकाहरुले भविष्यमा सी ग्रेडको प्रशिक्षक तालिम लिन पाउने भएकाले महत्वपूर्ण रहेको बताउनुभयो ।


बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, एन्फाका एजुकेशनल हेड प्रशिक्षक सञ्जित सिंहलगायतले कम्युनिटी कोचिङ कोर्सको महत्व दर्शाउनु भएको थियो ।
एन्फाका प्राविधिक डाइरेक्टर हरि खड्का र एजुकेशनल हेड प्रशिक्षक सिंहले प्रशिक्षण दिदै छन् । प्रशिक्षणमा पूर्व खेलाडीहरुको बाक्लो उपस्थिति रहेको छ । यही तालिम दुई हप्ताअघि कोहलपुर नगरपालिकाको आयोजनामा गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !