जनताको निराशालाई आशामा बदल्नु छ –उद्योगमन्त्री


नेपालगञ्ज – उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनु भएको छ ।
डल्फिन ग्रुपको १४ औं वार्षिकोत्सवमा नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगीलाई आशा, भरोसा, विश्वास नदिलाएसम्म नेपालको अर्थतन्त्र बलियो नहुने भएकाले लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण बनाउन फास्ट ट्रयाकबाट कानूनहरु निर्माण गरिने बताउनुभयो ।
मन्त्री भण्डारीले जनतामा रहेको चरम निराशालाई आशा बदल्न सकेन भने सरकारले गति लिन नसक्ने बताउनुभयो । उहाँले जनआक्रोशलाई आशामा बदल्न सरकारलाई चुनौती चुनौती रहेको र त्यसो गर्न नसके सरकार छोडनु पर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले अहिलेको गठबन्धन समान विचार र अग्रगमनको रहेकाले जनमुखी कामहरु हुने विश्वास दिलाउनु भयो ।
डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका सञ्चालक तीर्थबहादुर थापाले आफूहरुले नेपालगञ्जलाई केन्द्र विन्दुमा राखेर उद्योगहरु सञ्चालन गरिरहेको बताउनुभयो । गु्रपले दानालगायत उत्पादन गर्ने गर्दछ ।


यसैबीच, मन्त्री भण्डारीलाई नेपालगञ्ज उद्योग बाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ । सीमा नाकालाई कडाई गर्न माग गर्दै संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीम रानाभाटले ज्ञापनपत्र बुझाएका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !