सेन्ट जेभियर्स विजयी
नेपालगञ्ज – नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलको यु–१८ टिम, गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ र यु–१२ टिमले मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् ।
शनिबार बाँकेको डुडुवा–५ कम्दीस्थित नवदुर्गा युवा क्लबको मैदानमा भएको खेलमा बाँकेको नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले गुरुकुललाई ४–० ले पराजित गरेको छ । नेपालगञ्ज सेन्ट जेभियर्सको तर्फबाट आशिष सुनारले २ गोल, बिपिन खड्का र मनिष श्रेष्ठले १–१ गोल गरेका थिए ।
नेपालगञ्ज धम्बोझी स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको खेलमा लम्की कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ टिमले नेपालगञ्जको मनकामना इङलिस मिडियम स्कुललाई २–० ले हरायो । गुरुकुलको जितमा हिमान्सु जोशी र देशान्त सुनारले १–१ गोल गरेेका थिए ।
यु–१२ तर्फ पनि गुरुकुलले मनकामनालाई २–० को नतिजामै हरायो । गुरुकुलको सफलतामा शंकर विक र राघब बोहराले १–१ गोल गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजना भएको मैत्रीपूर्ण खेलमा बाँके र कैलालीको विद्यालय स्तरको च्याम्पियन टिमले प्रतिस्पर्धा गरेका थिए । बाँकेमा गत महिना सम्पन्न मेयर कप अन्तर विद्यालय छात्र फुटबलमा नेपालगञ्ज सेन्ट जेभियर्स च्याम्पियन बनेको थियो । लम्कीको गुरुकुल इङलिस मिडियम स्कुल पनि कैलालीमा मेयर कप फुटबलको उपाधि जितेको टिम हो ।
मैत्रीपूर्ण खेलमा विजयी हुने खेलाडीलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, उपाध्यक्ष निर्मल चन्द, मैत्रीपूर्ण खेलका संयोजक दिपेन्द्र घले, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ सदस्य इन्द्र राना लगायतले पुरस्कृत गरेका थिए ।
अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य शाहीले बाँके र कैलालीको च्याम्पियन स्कुलबिचको मैत्रीपूर्ण खेलले नयाँ सम्भावनाको विकास गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘मैत्रीपुर्ण खेल आयोजनामा सहयोग गर्ने सम्पुर्णलाई हामी विशेष धन्यवाद दिन चाहन्छौं । यसलाई सफल बनाउने गुरुकुल स्कुल र सेन्ट जेभियर्स प्रति पनि आभारी छौं । खेलाडीको क्षमता अभिवृद्धि गर्न यस्ता गतिविधि निकै महत्वपूर्ण हुन्छ । आगामी दिनमा संघले यस्ता अवसर अझै सृजना गर्ने प्रतिवद्धता गर्दछु ।’
मैत्रीपूर्ण खेलको समापन अवसरमा बोल्दै गुरुकुल इङलिस मिडिया स्कुलका संस्थापक माधव थापाले बाँकेमा आएर फुटबल खेल्न पाउनु आफना खेलाडीहरुका लागि महत्वपूर्ण अवसर भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘हामी खुसी छौं । एउटा उत्कृष्ट स्तरमा हामीले बाँकेमा मैत्रीपूर्ण फुटबल खेल्ने अवसर पायौं । आगामी दिनमा पनि हामी फुटबल खेलाडीलाई अवसर प्रदान गर्नका लागि अरु नयाँ कार्यक्रममा सहकार्य गर्न तयार छौं ।’
नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलका संस्थापक डिल्ली राज डाँगीले मैत्रीपूर्ण फुटबल खेल्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिदैं फुटबलको विकासमा एन्फासँग सहकार्यका लागि तयार रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘विद्यार्थीहरुलाई खेलमा अभिरुची बढाउन यस्ता खेलहरु महत्वपूर्ण हुन्छ । एन्फाले गर्ने रचनात्मक कार्यमा हामी सहकार्य गर्न तयार छौं ।’
मैत्रीपूर्ण खेलको स्थानीय व्यवस्थापन नवदुर्गा क्लब कम्दी–५ ले गरेको थियो । नेपालगञ्ज भन्दा बाहिर हुने यस्ता गतिविधिले बाँकेको फुटबलको स्तर बढाउन सहयोग गर्ने एन्फाका उपाध्यक्ष निर्मल चन्दले बताउनु भयो ।