मानव बेचबिखन राेक्न प्रभावकारी सहकार्यमा जाेड

नेपालगञ्ज – मानव बेचविखनलाई नियन्त्रण गर्न नेपाल-भारतबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको छ ।
शक्ति समूहले नेपालगञ्जमा आज आयोजना गरेको मानव वेचविखन विरुद्ध अन्तरदेशीय कार्यशाला गोष्ठीमा मानव बेचविखन रोक्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरुबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीहरु समेत उपस्थित कार्यशालामा मानव बेचविखनको स्वरुप बदलिएको भन्दै त्यसतर्फ सजग रहनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले मानव बेचबिखन रोक्न नेपाल भारतबीच प्रभावकारी सहकार्य हुन आवश्यक रहेको बताए । उनले नेपालगञ्ज कर्णाली र लुम्बिनी प्रदेशको मुख्य आवतजावत केन्द्र भएकाले मानव बेचबिखनको जोखिम बढी हुने हुँदा सरोकारवाला निकायहरुले सजगताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पैसाका लागि धेरै नेपाली बेचिएको बताए । उनले नीतिगत ब्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले पहिला र अहिले मानव बेचबिखनको प्रक्रिया र माध्यम फरक भएको बताए । उनले हिजोआज पढेलेखेका र सबै कुरा बुझेकाहरु पनि रोजगार पाइने आशामा मानव बेचबिखनमा परेको बताए ।

शक्ति समूहका अध्यक्ष नातीसरा राईले मानव बेचविखनका क्षेत्रमा काम गर्ने सबैको सहयोगमा अघि बढ्न सहज भएको बताइन् । शक्ति समूहका पूर्व अध्यक्ष चरिमाया तामाङले नेपाल र भारत दुवै देशमा नेपालीहरु असुरक्षित भएको विषयलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन आग्रह गरिन् । कार्यक्रममा कार्यतास इण्डिया कलकत्ताका आशा रुस्लिन, भारतीय सीमा नाका प्रहरी अधिकारी, भारतमा रहेर मानव बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थामा आवद्ध प्रतिनिधिहरु लगायतको सहभागिता रहेको शक्ति समूहकी निर्मला पौडेलले जानकारी दिइन् ।


error: यो सुविधा उपलब्ध छैन !