दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र


नेपालगञ्ज – दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र गरिएको छ ।
पालिकाहरुसँगै स्वास्थ्य कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाउन लागि परेको हो । त्यसका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य कार्यालय, बाँकेले शुक्रबार जिल्ला समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप फोकलपर्सन नरेश श्रेष्ठले खोप अभियानलाई सफल बनाउन सबै तह र तप्काका मानिस लागि परेको बताउनुभयो । उहाँका अनुसार, बाँकेमा एक लाख ६५ हजार ५ सय ६६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । फाल्गुन १३ गतेदेखि शुरु हुने अभियान १५ दिनसम्म चल्ने छ ।
नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइदैछ । त्यसका लागि एक हजार दुई सय ९५ जना स्वास्थ्यकर्मी, एक हजार नौ सय ४४ जना स्वयंसेवक परिचालन गरिएको छ । गतवर्ष नेपालगञ्जमा महामारी फैलिदा एक जनाको मृत्यु भएको थियो भने जिल्लामा ३ सय २९ जना संक्रमित भएका थिए । खोप नलगाएका व्यक्तिमा संक्रमण देखिएको अधिकारीहरुले बताएका छन् ।
जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, भेरी अस्पताल, नेपालगञ्जका निमित्त मेसु डा. दिनेश चौधरीलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !