नेपालगञ्जमा ४२ हजारलाई दादुरा–रुबेला खोप लगाइदै


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ४२ हजार २ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने भएको छ ।
फाल्गुन १३ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइन्छ । अभियानलाई सफल बनाउन उपमहानगरपालिकाले विभिन्न व्यक्तित्वहरुसँग छलफल थालेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले नेपालगञ्जमा ८० प्रतिशतमात्रै कभरेज रहेकाले त्यसलाई बढाउने चुनौती रहेको बताउनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकामा समग्रमा ८० प्रतिशत कभरेज भएपनि वडाहरुमा फरक–फरक कभरेज रहेको छ । कुनै वडामा १६, १७ र २१ प्रतिशतसम्म कभरेज रहेको छ ।
नेपालगञ्जमा ७४ स्थानमा सञ्चालन गरिदैछ । स्कूलहरुमा गएर खोप लगाउने रणनीति बनाइएको छ ।
नेपालगञ्जमा गतवर्ष दादुरा महामारी फैलिएको थियो । जसबाट एक जनाको मृत्यु भएको थियो भने २ सय १४ जना संक्रमित भएका थिए । नेपालगञ्जमै दादुरा महामारी फैलिएपछि सरकारले सन् २०२३ मा दादुरा निवारण गर्ने घोषणा धकेलिएको थियो ।
स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकृत नरेश श्रेष्ठले गतवर्ष नेपालगञ्ज उपमहानगरपालिकालगायत अन्य पालिकामा गरेर ३ सय २९ जनामा संक्रमण देखिएकाले शून्य खोप र आंशिक खोप लगाएकालाई समेत छुट्न नदिने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राईले खोप अभियानलाई प्रभावकारी बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !