मोडेलको दुवैतर्फ जीत


नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।
छात्रतर्फ कृष्ण माविले बाल विद्या र नेपालगञ्ज मोडेल एकेडेमीले राम जानकी माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आदर्श स्कूलले नियम विपरित खेलाडी खेलाएको भन्दै प्रोटेष्ट परेपछि अघि बढेको बाल विद्यालाई कृष्ण माविले ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयमा एक÷एक गोल भएको थियो । कृष्ण माविले शंकर चन्दको गोलले ७ मिनेटमै अग्रता लिएको थियो । बाल विद्याका सन्देश न्यौपानेले ४८ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएका थिए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन र खेलको निर्णय ट्राइबेकरबाट गरियो । जसमा कृष्ण माविका शंकर चन्द, सन्दीप परियार र मोहित थापाले गोल गरे । कृष्ण श्रेष्ठ, विशाल बाह्रघरे र निर्मल परियारले गोल गर्न सकेनन् ।
बाल विद्याका शिशिर थापा र कुशल घर्तिमगरले गोल गरे भने प्रतिक सुनार, निर्मल परियार र राज थापामगर र कृष्ण पुरीले गोल गर्न सकेनन् । कृष्ण माविका नविन विक म्यान अफ द म्याच भए । उनलाई संघीय सांसद डा. धवलशमशेर राणाले पुरस्कृत गरे ।
अर्को खेलमा मोडेलले रामजानकीलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । मोडेलका योगेश शाही ठकुरी, निकेश सिंह र रुपेश बोहराले गोल गरे । विनोद शाही, निश्चल पुनमगर र रोशन चौधरीले गोल गर्न सकेनन् । राम जानकीका रिजन कठायत र गणेश आलेले मात्रै गोल गरे । अनिल रानामगर, अमित थापा, सागर दर्लामी र महेश विकले गोल गर्न सकेनन् । नेपालगञ्ज मोडेलका निश्चल पुनमगर म्यान अफ म्याच भए । उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका अध्यक्ष टेकेन्द्र मल्लले पुरस्कृत गरे ।
अब सेमिफाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्सविरुद्ध जयबागेश्वरी स्कूल र नेपालगञ्ज मोडेलविरुद्ध कृष्ण माविको खेल हुनेछ ।
छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । मोडेलले मंगलप्रसाद माविलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गरेको हो । निर्धारित समयमा २५ मिनेटमै निरुता शाहीको गोलबाट मंगलले अग्रता लिएको थियो । मोडेलका चमेली चौधरीले ३३ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएकी थिइन् ।
ट्राइबेकरमा मोडेलका भविसरा बुढाक्षेत्री, शोभा शाही र आरुसी भट्टराईले गोल गरे । मंगलका उर्वसी शाहीले मात्रै गोल गरिन् । निरुता शाही, झुमा थारु र विनिता बुढाले गोल गर्न सकेनन् । नेपालगञ्ज मोडेलका आरुसी भट्टराई ओमन अफ द म्याच भइन् । उनलाई एन्फाका पूर्वउपाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले पुरस्कृत गरे ।
अर्को खेलमा जनसेवा मावि गिजरा डायनामिक हाइस्कुललाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जनसेवाका पुष्पा कामीले र शुभेच्छा बोहराले गोल गरेका थिए । पुष्पा कामी ओमन अफ द म्याच भइन् । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज श्रेष्ठले पुरस्कृत गरे ।
प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।


error: यो सुविधा उपलब्ध छैन !