यो गठबन्धनबाट मुलुकको हित हुँदैन : एमाले महासचिव


नेपालगञ्ज – एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि हुन नसक्ने बताउनु भएको छ ।
प्रेस चौतारी, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको गठबन्धनबाट मुलुकको विकास हुन नसक्ने बताउनु भएको हो ।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औल्याउनु भयो । उहाँले एमालेले मध्यपहाडी क्षेत्रमा गरेको समृद्धिका लागि संकल्प यात्राले त्यस क्षेत्रका जनतामा रहेको निराशालाई हटाउने काम गरेको बताउदै अब हुलाकी क्षेत्रमा पनि त्यस किसिमको यात्रा गर्ने बताउनुभयो ।
एक प्रश्नमा महासचिव पोखरेलले पार्टी एकतातिर नभई सही विचार बोक्नेका बीचमा धु्रवीकरण गर्न एमाले लागि परेको बताउनुभयो । सत्तामा जाने विषयमा एमालेले नसोचेको बताउदै महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन लागि परेको बताउनुभयो । सरकारले बेतिथिहरु समाधान नगर्दा जनतामा निराशा छाएको पोखरेलको भनाई थियो । उहाँले बालुवाटार जग्गा, नक्कली भुटानी शरणार्थी, सुनकाण्ड कोट्याउदा सत्ताकै अनुहार देखिएपछि फाइल बन्द गरिएको दावी गर्नुभयो ।
चौतारी, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य खेममान खड्का, सुजाता शाक्य, केन्द्रीय सदस्यहरु पशुपतिदयाल मिश्र, मो. हारुनलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !