नेपालगञ्ज सेन्ट जेभियर्स र मंगल प्रसाद फाइनलमा

नेपालगञ्ज –  नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र मंगल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले नेपालगञ्ज मोडेल एकेडेमीलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
नेपालगञ्जस्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगञ्ज मोडेलले १७.१ ओभरमा १ सय ५ रन बनाएर अलआउट भएको थियो ।  टोलीका लागि विकास खनालले १५ रन, निश्चल पुन मगरले १३ रन र आयुश पुन मगरले ११ रन बनाए ।
नेपालगञ्ज सेन्ट जेभियर्सका सम्यक थापाले ३ विकेट, राजिव साहु र बिपिन खनालले २–२ विकेट लिएका थिए ।
मिन्टु शर्मा र भुपाल रावलले अविजित रहँदै उत्कृष्ट ब्याटिङ गरेपछि १ सय ६ रनको विजयी लक्ष्य पाएको सेन्ट जेभियर्सले ११.३ ओभरमा ३ विकेटका नोक्सानीमा जित हासिल गरेको थियो । म्यान अफ द म्याच मिन्टु शर्माले अविजित ५० रन बनाए । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । सेन्ट जेभियर्सका अर्का ब्याटसम्यान भुपालले अविजित ३६ रनको योगदान गदै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । भुपालले ३० बलमा ६ चौका प्रहार गरेका थिए । नेपालगञ्ज मोडेलका विवेक पुन मगरले २ विकेट र सुमित विष्टले १ विकेट लिए ।
सेमिफाइनल खेलमा म्यान अफ द म्याच घोषित भएका नेपालगञ्ज सेन्ट जेभियर्सका मिन्टु शर्मालाई जयमंगलम सिमेन्टका सेल्स डिरेक्टर रिसब अग्रवालले पुरस्कृत गरे ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमको सहभागिता रहेको छ ।
ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गरिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !