पर्यटन प्रवद्र्धनका लागि पोखराको टोली नेपालगञ्जमा

नेपालगञ्ज – आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थालिएको ‘जाउँ है पोखरा अभियान’को टोली नेपालगञ्ज आएका छन् ।

पोखरामा पर्यटन भित्र्याउन थालिएको यो अभियानका टोली भैरहवा हुँदै नेपालगञ्ज आएका हुन् । यहाँबाट धनगढी हुँदै महेन्द्रनगर जाने कार्यक्रम रहेको छ । गत कात्तिक महिनामा अभियान पूर्वी जिल्लामा गरिएको थियो । 

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप होटल संघ पोखरा नेपालले दुई दशकदेखि यो अभियान थालेको हो । अभियानका टोलीले नेपालगञ्जका होटल र पर्यटन व्यवसायीसँग सम्बद्धसँग पर्यटन विकासका लागि छलफल गरेका छन् । 

होटल एशोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा आउनेमा ३५ देखि ४० प्रतिशत पर्यटक आन्तरिक रहेको जानकारी दिदै नेपालगञ्ज र पोखरामा आउने पर्यटकलाई कसरी जोड्न सकिन्छ भन्ने छलफल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आर्थिक मन्दीका कारण २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भएको स्मरण गर्दै पोखरामा आएका पर्यटकलाई नेपालगञ्ज र नेपालगञ्जमा आएका पर्यटकलाई पोखरामा घुमाउने वातावरण बनाउनु पर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सकेमा नेपालगञ्ज, पोखरामात्रै होइन, देशकै पर्यटन व्यवसाय फस्टाउने बताउनुभयो । त्यसका लागि सरकारले सहज वातावरण बनाउन जरुरी रहेको औल्याउनुभयो । 

होटल संघ पोखरा, नेपालगञ्ज उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ नेपालगञ्ज, नाट्टालगायतका प्रतिनिधिले नेपालगञ्ज र पोखरालाई पर्यटनमा जोड्न सकेमा दुवैतर्फ फाइदा हुनेमा जोड दिए । अभियानमा २० जनाको टोली हिडेको छ । 


error: यो सुविधा उपलब्ध छैन !