दश जना महिला स्वयंसेविकालाई ५० हजार दिएर बिदाई
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउने आश्वासन दिएका छन् ।
२० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले उचित सम्मान नगरेको बताउदै आफूले आफ्नो कार्यकालमा सेवा सुविधा बढाउने आश्वासन दिए ।
मेयर विष्टले राज्यले महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई महान भन्ने गरेपनि त्यस अनुसारको व्यवहार नगरेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत ओमबहादुर खड्का र स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगञ्जले महिला स्वयंसेविकालाई उचित सम्मान गरिरहेको बताए ।
नेपालगञ्जमा १ सय ६६ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका थिए । त्यसमध्ये १० जना उमेर हदका कारण आजदेखि बिदाई भएका छन् । जनही ५० हजार रुपैया दिएर बिदाई गरिएको छ । सो अवसरमा २३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो । स्वयंसेविकालाई वार्षिक दश हजार लुगा भत्ता, १२ हजार यातायात खर्च, एक हजार दुई सय सञ्चार खर्च र दुई हजार पाँच सय रुपैया चाडबाड खर्च दिने गरिएको छ ।
महिला स्वयंसेविका संघ, नेपालगञ्जका कार्यवाहक अध्यक्ष ज्योती श्रेष्ठले महिला स्वयंसेविका बिदाई हुँदा कम्तीमा एक लाख रुपैया दिनु पर्ने आफ्नो मागको अझै सुनुवाई नभएको गुनासो गरिन् । कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेल, स्वयंसेविका तुलसा थापालगायतले बोलेका थिए ।