साउनमा सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री
नेपालगञ्ज – लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले साउनमा पूर्णता पाउने बताउनु भएको छ ।
प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले साउनमा मन्त्रीमण्डल विस्तार हुने बताउनुभयो । राजनीतिक सहमतिमा मन्त्रीमण्डलले पूर्णता पाउँछ, मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘यतिबेला जनतालाई के दिने भन्नेमा लागेका छौं । त्यसपछि मन्त्रीमण्डल विस्तार गर्छौ ।’
नेपाली कांग्रेसका नेतासमेत रहेका चौधरी मुख्यमन्त्री भएपनि सत्ता गठबन्धनका अन्य दलको आन्तरिक विवादका कारण मन्त्रीमण्डल विस्तार हुन सकेको छैन ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले रोजगारलाई प्राथमिकता दिएको बताउनुभयो । दुई लाखलाई रोजगारी दिने गरी प्रदेश सरकार लागिपरेको बताउदै चौधरीले त्यसका लागि एक अर्ब छुट्याएको र संघबाट पनि त्यतिनै अपेक्षा गरिएको बताउनुभयो ।
प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढावा दिएको र जिल्लाको विशेषता अनुसार हब बनाउने अभियानमा लागेको चौधरीको भनाई थियो । सरकारले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काईब्रिज बनाउने बताएको छ ।
यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उद्घाटन गरेका थिए ।