भेरी अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन अभाव

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा रेविजविरुद्धको भ्याक्सिन नहुँदा विरामीले बाहिरबाट महंगोमा भ्याक्सिन किनेर लगाउनु परेको छ ।
अस्पतालले निशुल्क दिदै आएको भ्याक्सिन ११ दिनदेखि सकिएको छ । निशुल्क पाइन्छ भनेर आएका विरामीले अस्पतालमा नहुँदा बाहिरबाट भ्याक्सिन किनेर लगाइरहेका छन् ।
भेरी अस्पतालले १२ नम्बर कोठाबाट रेविजविरुद्धको भ्याक्सिन दिदै आएको छ । बिहीबार त्यहाँ डिउटीमा रहेका कृष्णबहादुर बुढाथोकीले जेठ २८ गतेदेखि भ्याक्सिन सकिएकाले विरामीले बाहिरबाट किनेर ल्याएपछि लगाइदिने गरेको जानकारी दिनुभयो । बुढाथोकीका अनुसार, नयाँ र फ्लोअपमा गरेर भेरीमा दैनिक सय जना हाराहारीमा रेविजविरुद्धको भ्याक्सिन लगाउन आउँछन् ।


एउटा भ्याक्सिन दुई जना विरामीलाई लगाइन्छ । छोरीलाई भ्याक्सिन लगाउन आएकी सीता केसीले दुई जना मिलेर किन्दा एक जनाको भागमा ३ सय ८० रुपैया परेको बताउनुभयो ।
निशुल्क भ्याक्सिन पाइन्छ भनेर आएका विरामीले अस्पतालमा भ्याक्सिन नहुँदा सास्ती पाउने गरेका छन् । छोरी झरनालाई लिएर आएकी सीता नै निशुल्क पाइन्छ भनेर पैसा नलिएर अस्पताल पुग्नु भएको थियो । अस्पतालमा भ्याक्सिन नभएको बताएपछि सीताले बाहिर गएर चिनेको मान्छेसँग पैसा सापट मागेर भ्याक्सिन किनेर छोरीलाई लगाउनुभयो ।
अस्पताल प्रशासनले प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नरहेकाले भ्याक्सिन अभाव भएको बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !