नेपालगञ्ज अब राती ११ बजेसम्म खुल्ने

नेपालगञ्ज – नेपालगञ्ज बजार अब राती ११ बजेसम्म खुल्ने भएको छ । असार १५ गतेदेखि संचालन हुने ‘स्ट्रीट फुडलेन’ लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो ।

नेपालगञ्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके लगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र सरोकारवालाबीच आज जिल्ला प्रशासनमा भएको छलफलमा शान्ति सुरक्षा र बजार व्यवस्थापनलाई ध्यान दिँदै असार १५ गतेदेखि ‘स्ट्रीट फुड लेन’ र ‘रात्रीकालीन बजार’ राती ११ बजेसम्म खुला राख्ने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्यले हाललाई असार १५ गतेदेखि ११ बजेसम्म बजार खुल्न दिने र त्यसपछिको अवस्था हेरेर आवश्यक निर्णय लिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरको शान्तिसुरक्षा र अमनचयनमा असर नपर्ने गरी स्थानीय ‘रैथाने’ परिकारहरुको प्रबर्द्धन गर्ने उद्देश्यले संचालन हुन लागेको ‘स्ट्रीट फुडलेन’ लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्न दिने सहमति बनेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा नाट्टा बाँकेले असार १५ गतेदेखि त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुडलेन’ संचालन गर्न लागेको छ । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले फुडलेनले नेपालगञ्जलाई नयाँ रौनक दिने बताउनुभयो । सिग्देलले स्थानीय स्वादलाई एकिकृत ढंगले ‘ब्राण्डिङ र प्रमोशन’ गरिने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !