बाँकेमा विश्व रक्तदाता दिवस मनाइयो


नेपालगञ्ज – २० औं विश्व रक्तदाता दिवसको अवसरमा बाँकेमा विभिन्न सचेतनामूलक कार्यक्रम र रक्तदान गरेर मनाइएकाे छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।
‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वयम्सेवीको एक पिन्ट रगतले कसैको ज्यान जोगिन सक्छ भन्ने कुरालाई मनन् गरेर रक्तदानको अभियानमा हातेमालो गर्न नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँकेद्वारा आयोजित कार्यक्रममा तपाई हाम्रो रक्तदानको सानो प्रयासले लाखौ रुपैयाँले बचाउन नसक्ने ज्यान जोगाउन सफल हुने भएकाले समाजका सबै व्यक्ति रक्तदान तर्फ सक्रिय हुनुपर्ने बताउँदै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले रगतदान जस्तो पूण्य कार्य अरु हुनै नसक्ने बताउनु भयो । समाजमा रहेका सबै वर्गका लागि कतिबेला कहाँ रगतको आवश्यकता पर्न सक्ने निश्चित नभएकाले स्वस्थ व्यक्तिको सक्रियता जरुरी हुनुपर्ने केन्द्रीय सदस्य वाग्लेले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै समाज बाँकेका सल्लाहकार तथा १८ वर्षदेखि हरेक तीन महिनामा निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रगतको आवश्यकता सबैलाई पर्छ र यो अभियानमा हरेक क्षेत्र, पक्ष, संघसंस्था र व्यक्तिको सक्रियता हुनुपर्ने बताउनु भयो ।
सल्लाहकार चुकेले मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने गरिन्छ भन्दै पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८ औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको जानकारी दिनु भएको थियो ।
उहाँले भन्नुभयो– स्वास्थ्य विज्ञानका अनुसार प्रत्येक स्वस्थ मानिसको शरीरमा तीन महिनामा पुनः अर्को रगत कोशिका तयार हुने भएकोले रक्तदान गरेर अरु कसैको ज्यान बचाउन सकिन्छ । यो दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै रक्तदातालाई धन्यवाद दिने दिवसका रुपमा पनि मनाउने  गरिन्छ ।
नेपालस्वयम्सेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाहले जिल्लामा रक्तदान अभियानलाई तिब्ररुपमा अगाडी बढाइएको भन्दै सबै स्थानीय तहमा यसको उपशाखा निर्माण गरिने बताउनु भयो । रगत भन्ने कुरा मानिसलाई नभई नहुने भएकाले यसको सहज उपलब्धता र रक्तदान गर्ने व्यक्तिहरुलाई नियमित रक्तदान गर्ने वातावरण निर्माणका लागि समाज लागिपरेको अध्यक्ष शाहले बताउनु भयो ।
यो वर्षको नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने विरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको अध्यक्ष शाहले बताउनु भयो ।
सो अवसरमा अध्यक्ष शाहले हालै केन्द्रीय अधिवेशनबाट भरखरै निर्वाचित केन्द्रीय सदस्य वाग्ले, खजुरा गाउँपालिकामा नवगठित उपशाखा अध्यक्ष विकास काउचामगर, सचिव गौरव सापकोटा, जानकी गाउँपालिका उपशाखा अध्यक्ष धर्मराज वर्मालाई स्वागत एवं दोसल्ला ओढाएर सम्मान गरिएको    थियो ।
यस्तै कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नेपाल शिव सेनाका केन्द्रीय सदस्य सुनिलराज केसी, मानव धर्म सेवा समिति, भेरी राप्ती क्षेत्रका सचिव मंगल जिएम, एकता युवा क्लबका अध्यक्ष राजेश यादव, समाजका सल्लाहकार पवन जायसवाल लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !