राप्तीसाेनारीले सिकलसेलका बिरामीकाे बीमा गर्ने

राप्तीसाेनारी –  बांकेको राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निशुल्क बीमा गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेले आज राप्तीसोनारी गाउँपालिका-२, कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि पालिकाभित्र रहेका सिकलसेलका बिरामीको पालिकाले निशुल्क बीमा गरिदिने बताउनु भएको हो ।

`सिकलसेल भएका बिरामीले जीवनभरी औंषधि खानु पर्ने हुन्छ । निम्न आयस्रोत भएकालाई औंषधि किन्न मुस्किल हुन्छ । बीमा गरिदियो भने त्यसले धेरै सहज हुन्छ । अर्को वर्षदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ उहाँले भन्नुभयो-`बीमा बापतको शुल्क पालिकाले तिर्छ ।´

राप्तीसोनारीका ४ वटा वडामा स्याम्पलिङ गर्दा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो पटक वडा नम्बर ६ कमैयाडांडामा ६३ जनाको नमूना जाँच गर्दा २ जना रोगी र ३६ जना वाहक फेला परेका छन् भने वडा नम्बर २ कचनापुरमा ४८७ जनाको नमूना जाँच गर्दा ३ जना रोगी र ४४ जना वाहक फेला परेका छन् । गत वर्ष वडा नम्बर ३ र ४ मा २ हजार १९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र २९१ जना वाहक फेला परेका थिए ।

थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञहरुलाई बस्तिस्तरमै पुर्‍याएर स्थानीयबासीलाई सचेत बनाउने काम गरिरहेको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वलीसहितको टिमले रोगीहरुलाई परामर्श समेत दिने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !