माइती नेपालको ३१ औ स्थापना दिवसमा विविध कार्यक्रम
नेपालगञ्ज – ´हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज´भन्ने मूल नाराका साथ स्थापना भएको माइती नेपालको ३१ औ स्थापना दिवसको अवसरमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध आज बिभिन्न क्षेत्रका मानिस एवं युवासमेत सँग एक अन्तरक्रिया गरिएकाे छ । कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्याय, समाजसेवी जित बहादुर थापा, समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापा, माइती युवा संजालका अभियन्ताहरु मेघबहादुर खत्री, सुरेन्द्र चलाउने लगायतले आ- आफ्ना धारणा राख्नु भएको थियो । दिवसकाे अवसरमा सूचना तथा सन्देशमूलक र्याली निकालिएकाे छ । ´हामी सवैको एकता, मानव वेचविखनको निर्मूलता, आजको आवश्यकता, मानव वेचविखन रोकथाममा एकता, हामी सबैको एउटै आवाज, मानव बेचबिखनबाट मुक्त समाजजस्ता नाराहरु लेखिएका प्ले कार्ड र व्यानरसहित नेपाल भारत सिमाना जमुनाहा नाकासम्म पुगेर जनचेतनामूलक पोष्टर टांस्नुका साथै अपिलहरु बितरण गरिएको थियो ।
दिवसकै अवसरमा शनिबार माइती नेपाल, नेपालगञ्ज र समाज सेवा संस्था नेपालको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर १४ को वडा कार्यालयमा रक्तदान कार्यक्रम राखिएकाे छ ।
संस्थाले समुदायस्तरसम्म स्थानीय बिध्यार्थी, युवा, अभिभावक समेतको समूह गठन गरि सशक्तिकरण, सरकारी र गैरसरकारी निकायहरु समेतको दायित्वबोध एवं क्रियाशीलतामा बृद्धि, अन्तरदेशिय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखन बिरुद्ध निर्मित ऐन नियमको आबश्यकता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्यनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै अाएको छ ।
२०४९ साल चैत्रमा हाम्रो आवाज : चेलिबेटी बेचबिखनबाट मुक्त समाज
´ भन्ने मूल नाराका साथ स्थापना भएको माइती नेपालले संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरु समुदायस्तर सम्म पुगि संचालन गर्नुका साथै नेपालका बिभिन्न मुख्य मुख्य नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपूर्ण यात्रामा रहेका महिला बालवालिकाहरुको उद्धार, भारत लगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालवालिकाको उद्धार, आवाशीय सेवा, मनोसामाजिक परामर्श , कानुनी सहायता, स्वास्थ्य सेवा लगायतका सेवा प्रदान गर्दै शिपमूलक तालिमसहित परिवार र समाजमा पुनर्मिलन लगायतका कार्य गर्दै आइरहेको छ ।
संस्थाले याे एक बर्षको अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका ५ सय ७ जना महिला बालवालिकालाई नेपाल भारत सिमाना जमुनाहा नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उद्धार गरिएको छ भने भारत तथा खाडी मुलुक समेतबाट १० जना लाई उद्धार गरिएको छ । याे अवधिमा ७ सय १२ जनाको खोज तलास तथा उद्धारको निबेदन परेकोमा २ सय ४६ जना फेला परेका छन् भने घरेलु हिंसाका १० वटा घटनामा परामर्श प्रदान गरिएको थियो ।