नेपालको प्रभावशाली जीत

नेपालगञ्ज – आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम तथा निर्णायक सिरिजमा पनि नेपालले प्रभावशाली सुरुवात गरेको छ। बिहीबारबाट सुरु भएको घरेलु सिरिजमा नेपालले पिएनजीमाथि ५२ रनको सहज जित हासिल गर्‍यो। विश्वकप क्रिकेट लिग–२ मा नेपालको यो पिएनजीमाथि पाँचौ जित हो।

घरेलु दर्शकमाझ टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कीर्तिमानी स्कोर तयार गरेको थियो। ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाउन सफल भयो। जुन नेपाली क्रिकेटको सर्वाधिक उच्च स्कोर हो।

नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेलेका थिए। यसअघि नेपालले नामिबियाविरुद्ध गत १४ फेब्रुअरीमा २८६ रनको लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो। जुन स्कोर नै नेपालको अहिलेसम्मको उच्च स्कोरका रूपमा रहेको थियो।

आसिफले करिअरको पहिलो शतक प्रहार गर्दै ११० बलमा १२ चौका र २ छक्काको सहयोगमा ११० रन बनाएर आउट भएका थिए। आसिफ रोहितपछि १ हजार रन पूरा गर्ने दोस्रो खेलाडीसमेत बने। आसिफबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ४५ रन बनाए।

दुई ओपनरले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए। त्यस्तै, कप्तान रोहित पौडेलले ३० रन बनाउँदा आरिफ शेख १५ रनमा आउट भए। त्यस्तै, ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा भीम सार्कीले ४४ रन बनाएका थिए। पिएनजीका लागि सिमो कमियाले ५ विकेट लिँदा र चार्लेस अमिनीले ३ विकेट लिएका थिए।

२ सय ९८ रनको लक्ष्य पछ्याएको पिएनजीले ४७.१ ओभरमा २४५ रन बनाउँदा अलआउट भएको थियो। पहिलो विकेटका लागि ओपनर किपलिङ्ग डोरिगा र टोनी उराले ७७ रनको साझेदारी गरेपनि त्यसपछिका खेलाडिले गतिलो साझेदारी गर्न सकेनन्।

पिएनजीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका नोरमन भनुवाले सर्वाधिक ६०रनको इनिङ खेलेका थिए। त्यस्तै, ओपनर टोनी उराले पनि ५० रनको अर्धशतकीय इनिङ खेले। कप्तान असद भाला ४२ रनमा आउट हुँदा ओपनर किपलिङ्ग डोरिगालाई २६ रन बनाएका थिए।

त्यस्तै, चार्लेस अमिनी १४ रन बनाएर पेभिलियन फर्किएका थिए। संकटमा पुगेको पिएनजीलाई नोरमन भनुवा र रिले हेकुरेले ८ औ विकेटका लागि ४१ रनको साझेदारी गर्दै समाले। हेकुरे २० रनमा सन्दीप लामिछानेको बलमा आउट भएसँगै यो साझेदारीको पनि अन्त भयो। तर भनुवाले आफ्नो एकतर्फी प्रदर्शन जारी राख्दै पिएनजीलाई सम्मानजनक अवस्थामा पुर्‍याए पनि टिमको हार टार्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ र कुशल मल्लले १ विकेट हात पारे। अब नेपालले आइतबार आफ्नो दोस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि शुक्रबार पिएनजी र युएई भिड्ने छन्।


error: यो सुविधा उपलब्ध छैन !