नेपाल यु-१९ क्रिकेट बिश्वकपमा

नेपालगञ्ज – नेपाली यु–१९ टिमले आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपमा स्थान बनाएको छ। विश्वकपको एसिया छनोटअन्तर्गत युएईसँगको निर्णायक खेलमा नेपाली युवा टिमले ७ रनको रोमाञ्चक जित निकाल्दै विश्वकपमा स्थान बनाएको हो। दिपेश कँडेलले ४८  औ ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिंदै रोमाञ्चक ह्याट्रिक गरेपछि नेपालले सनसनिपूर्ण रुपमा विश्वकपमा स्थान बनायो।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले १९२ रनको लक्ष्य दिएको थियो। जवाफमा युएई ४८ ओभरमा १८४ रनमा समेटिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो।

युएईका लागि एथा कार्ल डोसौजाले ५० रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै आयन सक्सेनाले ३४ रन बनाउँदा अर्यान्स शर्माले ३२ रन बनाए। त्यस्तै अमर बडामीले १९ रन बनाउँदा ध्रुव परशरले १७ रन बनाएका थिए। उसका मारुफ मर्चेन्ट १२ रनमा अविजित रहे। उसका पछिल्ला क्रमका कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन्।

नेपालका लागि दिपेश कँडेलले ५ विकेट लिँदा हेमन्त धामी र सुवास भण्डारीले समान २–२ विकेट लिए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै नेपालले ४८.५ ओभरमा अलआउट हुँदै १९१ रनको स्कोर तयार गर्‍यो। १९ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, उतम रङ्गु थापा मगरले ३६ रन बनाउँदा विशाल विक्रम केसीले ३८ रनको योगदान दिएका थिए।

आजमानस्थित इडेन गार्डेन ओभलमा थप दोहोरो स्कोरका रुपमा दिपेश कँडेलको १५ रन रहँदा मिलन बोहोराले १० तथा हेमन्त धामीले १३ रन बनाए।

युएईका लागि ध्रुव परशरले ३ विकेट लिँदा आयान अफजाल खान र हरित हरिस सेटीले समान २–२ विकेट लिए। त्यस्तै, हर्सीत सेट र अमर बडामीले समान १–१ विकेट लिए।

नेपालले युएईलाई हराएसँगै प्रतियोगितामा सबै पाँच खेलमा जित निकाल्दै च्याम्पियन बन्यो। नेपाल युएईलाई हराउँदै २०१६ पछि विश्वकपमा स्थान बनाउन सफल भयो।


error: यो सुविधा उपलब्ध छैन !