डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु

डुडुवा – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको हो ।

गाउँपालिकाको ६ वटै वडाका लक्षित नागरिकलाई बिहीबारदेखि भत्ता वितरण शुरु गरिएको छ । भत्ता बितरण गर्ने बैंकमै पुगेर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभएको थियो ।

गाउँपालिकामा सामाजिक भत्ता पाउने जेष्ठ नागरिकलाई बैंकसम्म सहजरुपमा पुर्याएर भत्ता ग्रहण गराएर पुनः घरमै छोड्ने सुबिधा समेत प्रदान गरिएको छ । भत्ता पाउने व्यक्तिहरुलाई नेपालगञ्जको तीन वटा बैंक एन आई एम बि बैंक, ज्योति बिकास बैंक र कुमारी बैंकमार्फत भत्ता बितरण भइरहेको छ ।

गाउँपालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा प्रमुख कौशल कैरातीका अनुसार गाउँपालिकाको ६ वटै वडाका जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता, एकल महिला, विधुवा गरि ४ हजार ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना ३ हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना २ हजार, पूर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना ३ हजार, अपाङ्गता भएका व्यक्ति (ख) वर्गलाई प्रति महिना १ हजार ६ सय, जन्मेदेखि ५ वर्षमुनिका दलित बालबालिकालाई प्रति महिना ४ सयका दरले रकम वितरण गरिने अपरेटर कौशलले बताउनुभयो ।

यसैगरि अपाङ्गता भएका व्यक्ति (ग) वर्गलाई प्रति महिना ५ सय र (घ) वर्गलाई ४ सय प्रति महिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिएको पञ्जिकाधिकारी शिव कुमार मौर्यले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !