शाश्वत आचार्य स्मृति प्रतिष्ठानद्वारा अन्तरक्रिया
नेपालगञ्ज – शाश्वत आचार्य स्मृति प्रतिष्ठान, नेपालगञ्जले ‘नेपालको निर्वाचन २०७९ ले उब्जाएका प्रश्न र दिएको सन्देश’ विषयमा अन्तरक्रिया गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतका पूर्व डीन पिताम्बर ढकाल, वरिष्ठ अधिवक्ता एवं नेपालगञ्जका पूर्व मेयर विजय गुप्त र अधिवक्ता लोकबहादुर शाहलाई वक्ता राखेर अन्तरक्रिया गरिएको थियो ।
वक्तात्रयले नेपालको राजनीति, दल, नेता र व्यवस्थाका बारेमा चर्चा गरेका थिए । पूर्व डीन ढकालले नेताहरुको व्यवहार र कार्यशैलीले गर्दा लोकतन्त्र नै लिखुरे बन्दै गएको बताउनुभयो । उहाँले सदाचार, जवाफदेहिता र पारदर्शिता भन्दा पनि देश चलाउनेहरु पैसाको पछाडी दौडिरहेको टिप्पणी गर्नुभयो ।
पूर्व डीन ढकालले समानुपातिक प्रणाली ‘घरपरिवार’को भर्ति केन्द्र बनेकाले यस्ता विकृति र विसंगतिहरुलाई बेलैमा सच्याइएन भने संविधान नै धराममा पर्ने बताउनुभयो ।
नेपालगञ्जका पूर्व मेयर गुप्तले नेपालको राजनीति सोलुसन भन्दा स्लोगनमा चलेको टिप्पणी गर्नुभयो । उहाँले नेता जनताको पछाडी हुनुपर्नेमा जनता नै नेताको पछाडी लागेर नेताहरुलाई देवत्वकरण गरिरहेको बताउनुभयो ।
अधिवक्ता शाहले राज्यका कुनै पनि अंग स्वतन्त्र नरहदा लोकतन्त्र नै कमजोर हुँदै गएको बताउनुभयो । उहाँले जुनसुकै निकायमा बेतिथि र विसंगति रहेको बताउदै जिल्लाको मिसिल उच्चमा झिकाउदा प्रक्रियाबाट नआउने उदाहरण दिनुभयो ।
नागरिक समाजले पार्टी भन्दा माथि उठेर गलतलाई गलत र सहीलाई सही भन्न सक्नु पर्ने धारणा राख्दै अधिवक्ता शाहले राम्रो कामका लागि मेरो र तेरो नभनि दबाब दिन जरुरी रहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्राडा जनार्दन आचार्यले स्वागत मन्तब्य राख्दै अन्तरक्रियामा विषय प्रवेश गराउनु भएको थियो ।