एड्सबाट एक सय ७० जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा एचआइभी एड्सबाट एक सय ७० जनाको मृत्यु भएको छ ।

‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ मनाइएको विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरिएको तथ्यांक अनुसार बाँकेमा हालसम्म एक सय ७० जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार, जिल्लामा ५ सय ३८ जना संक्रमित एआरटी उपचारमा छन् । भेरी अस्पतालबाट उनीहरुले सेवा लिइरहेका छन् । सुईद्वारा लागु औषधी प्रयोग गर्ने, यौनकर्मी, समलिंगी, तेस्रो लिंगी र रोजगारीका लागि विदेशमा रहेका व्यक्तिहरु संक्रमणको जोखिममा रहेको सम्बद्धहरु बताउँछन् ।

लागु औषधी प्रयोगकर्तालाई एचआइभी संक्रमण देखिने गरेको छ । सीमावर्ती शहर रहेकाले नेपालगञ्जमा लागु औषधी प्रयोगकर्ता बढी नै छन् । जानकारहरुका अनुसार, यहाँ यौनकर्मीहरु प्रायले लागु औषधी सेवन गर्छन् ।

जनचेतनाका लागि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ । बाँकेमा पनि विविध कार्यक्रम गरेर दिवस मनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !