पूर्वमन्त्रीहरू फिल्डमा

नेपालगञ्ज –बाँकेमा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई जिताउन राप्रपाका नेता तथा पूर्वमन्त्री प्रेम भण्डारी र फत्तेसिंह थारु मैदानमा खटिनु भएको छ ।
पूर्वमन्त्री भण्डारी बाँके क्षेत्र नं. १ र पूर्वमन्त्री थारुले क्षेत्र नं. ३ मा एमाले राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन कमाण्ड सम्हाल्नु भएको छ । उहाँहरु उम्मेदवार सँगसँगै निर्वाचन क्षेत्र अन्तर्गतका गाउँवस्तीमा पुग्ने गर्नुभएको छ ।
क्षेत्र नं. १ का पूर्व सांसद समेत रहनुभएका भण्डारी राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निरन्तर चुनावी अभियानमा रहनुभएको छ । सोमबार नरैनापुरको पनि विकट क्षेत्रका रुपमा रहेको सीमावर्ती क्षेत्र वडा नं. २ रोशनपुर्वा र घोडदौरिया लगायतका स्थानमा भण्डारीको नेतृत्वमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेल सहित चुनावी प्रचार गरिएको छ ।
राप्रपाका बरिष्ठ नेता थारु क्षेत्र नं. ३ मा एमाले उम्मेदवार उम्मेदवारसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुग्ने गर्नुभएको छ । बाँके क्षेत्र नं. ३ क मा केही दिनयता पूर्वमन्त्री एवम् राप्रपा नेता थारुको प्रमुख आतिथ्यमा नेकपा एमाले–राप्रपाको औपचारिक र अनौपचारिक चुनावी कार्यक्रम भइरहेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य बाँके इन्चार्ज एवम् बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ इतिहास रच्ने अवर प्राप्त भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड दिनुभयो ।
बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता,कार्यकर्ता तथा जनता समेत उत्साहित भएको नेकपा एमाले राप्तीसोनारीका युवा नेता माधव पौडेलले बताउनुभयो । दुई पार्टीबीचको तालमेलले जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उहाँको दावी छ ।
बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा उम्मेदवार डा. धवलसम्शेर राणा र प्रदेश सभातर्फ बाँके क्षेत्र नं. १ क मा राप्रपाका उम्मेदवार नरेन्द्र पौडेललाई सघाउने भएको छ ।
नेकपा एमालेबाट बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा केन्द्रीय सदस्य सूर्य ढकाल, प्रदेश ख मा दुर्गा थारु (सन्तोष), बाँके क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश क मा पार्टी सचिव रत्न खत्री र प्रदेश ख मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बन्नुभएको छ ।

error: यो सुविधा उपलब्ध छैन !