विकास गर्ने नेतालाई मतदान गर्न राईको अपिल
नेपालगञ्ज – जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र विकास नछोड्ने नेतालाई मतदान गर्न अपिल गरेका छन्।
क्षेत्र नं. २ अन्तर्गत पर्ने डुडुवा तथा नेपालगञ्ज क्षेत्रमा चुनावी घरदैलो कार्यक्रमका बेला मतदाताहरूलाई सम्बोधन गर्दै राईले यसअघिका कामहरूको आधारमा मतदान गर्न आव्हान गर्नुभयो ।
‘मैले यसकारण तपाईंहरूसँग भोट मागिरहेको छु कि यसअघि पनि मैले यहाँ गरेका बाचाहरूअनुसार काम गर्ने प्रयास गरें। कति गरें त्यो तपाईंहरू नै साक्षी हुनुहुन्छ’ उनले भन्नुभयो, अझै काम गर्न बाँकी छ र ती कामहरू मैले अवश्य पूरा गर्नेछु त्यसका लागि फेरि एकपटक मलाई तपाईंहरूको साथ चाहिएको छ।’
राईले काम गरेका र अब पनि विकासका लागि राजनीति गरिरहेकाहरूलाई नै मतदान गर्न अपिल गर्दै त्यसको मूल्याङ्कन मतदान गर्दा उचित विवेक प्रयोग गरेर देखाइदिन पनि मतदातालाई आग्रह गर्नुभयो ।
‘यो क्षेत्रमा थुप्रै नेताहरू जन्मिएका छन्। प्रधानमन्त्री पनि यही क्षेत्रले पाएको छ। काम गर्ने ठाउँमा अरु पनि पुगेका छन्। तर यहाँको स्थितिमा के परिवर्तन भयो त ?’ राईले भन्नुभयो, म पनि दुई कार्यकाल सांसद भएँ। मन्त्री भएँ अहिले र त्यो बेलाको विकासको स्थिति सम्झिनुस् अनि मतदान गर्नुहोस्।’