रेन्जर लागु औषधीसहित पक्राउ

नेपालगञ्ज – डिभिजन वन कार्यालय, घोराही दाङका रेन्जर किरण तिवारी ठूलो मात्रामा लागु औषधी ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८, हेमन्तपुरमा घर रहेका २८ वर्षीय रेन्जर तिवारीले सरकारी नम्बर प्लेटको मोटरसाइकलमै १४ ग्राम ५ सय मिलिग्राम बोकेर आउदा पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा पक्राउ परेका हुन् ।

रा १ ब ८९९ नम्बरको मोटरसाइकलमा रहेका रेन्जर तिवारीले मोटरसाइकलको सक र हेडको बीचमा हरियो रंगको प्लाष्टिकमा पोका पारेर ब्राउनसुगर लैजादै थिए । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी निरीक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले तिवारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐन मल्लले जानकारी दिनुभयो । मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं. १५, रतनपुर निवासी २७ वर्षीय भरत चौधरीले चलाएका थिए ।

तिवारीले बर्दियाको सीमावर्ती भारतीय बजारबाट ५५ हजार रुपैयामा ब्राउनसुगर किनेर ल्याएका थिए ।

कोहलपुर प्रहरीले कात्तिक ४ गते कोहलपुर नगरपालिका वडा नं. २, विकासनगरका २४ वर्षीय विजय भन्ने वीरबहादुर विकलाई ७ सय १० मिलिग्राम र सोही दिन बैजनाथ गाउँपालिका वडा नं. ५, वनकटुवाबाट २६ वर्षीय मनिष थारुलाई ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !