भुम राजनीतिको नयाँ भूमी खोज्दै
नेपालगञ्ज – बुद्धनगरको बसाँईमा एक दिन तत्कालिन नेपाली कांग्रसेका कार्यवाहक सभापति सुशील कोईरालाले भनेका थिए -‘भुमले रजनीतिक भूमी फराकिलो बनाउनु पर्छ ।’
नेपाल विद्यार्थी संघका युवाको एक समूह कोईरालालाई चुनाव हारेको समयमा सान्तवना दिन पुगेका थिए बुद्धनगर कोईराला बस्ने घरमा ।
कुरा २०६४ को पहिलो संविधान सभा निर्वाचन पछिको हो ।
समय आफ्नै रफ्तारमा अघि बढिरह्यो । भुम भण्डारी २०७० देखि २०७३ सम्ममा नेविसंघ केन्द्रिय सदस्य पनि भए ।
पार्टी राजनीतिमा उनी कोहलपुर नगर कार्य समिति सचिव भएर अग्र पंक्तिमा कांग्रेसका एजेण्डा स्थापित गराउन संघर्ष गरिरहे । जतिबेला नेकपाको बलियो सरकार थियो । उनी राजनीतिक र सामजिक मुद्दामा जनताका पक्षमा आवाज बुलन्द गरिरहे ।
तर उनै भुम यतिबेला राजनीतिको भूमी फराकिलो पार्न रुखलाई छाडेर ‘ढकिया’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् ।
राजनीतिको नयाँ भूमी खोज्न भूमीपुत्रहरुले स्थापना गरेको पार्टी राष्ट्रिय उन्मुक्ति पार्टीमा जोडिए ।
उनको राजनीतिक संघर्ष निकै उतार चढावमय रह्यो । राज्यबाट राजनीतिक मुद्धामा दर्जनौं पटक पक्राउ परे । द्वन्द्वकालमा २०५८ मंसीर देखि २०५८ पुस सम्म इमामनगर राँझामा नेपाल आर्मीको ब्यारेकमा नजरबन्दमा समेत परे ।
तर उनको नजरमा लोकतन्त्रको दूर दृष्टि थियो ।
सेनाको यातना पछि २०६०असोज १४ गतेसम्म भारतको नासिकमा निर्वासित भएर बस्नुपर्यो । बांके क्षेत्र नं. १ ख बाट उम्मेद्वारी दिएका भण्डारीको जन्म रुकुम जिल्ला चौरजहारीमा २०३८ जेठ २० भएको हो । २०५१ सालमा शितल उच्च माध्यामिक विद्यालय चौरजहारी रुकुमबाट ने वि संघको यात्रा शुरु गरेका भण्डारी स्पष्ट वक्ता हुन् । जब नेपालगञ्जकाे महेन्द्र बहुमुखी क्याम्पस पुगे उनको विद्यार्थी राजनीति थप अघि बढ्यो ।
राजनीतिशास्त्र र नेपाली साहित्यमा एम ए, शिक्षा शास्त्रमा वि एड सम्मको अध्ययन पूरा गरेका भण्डारीले यतिबेला आफ्नो राजनीतिको धार परिवर्तन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजनीतिको भूमी विस्तार गर्ने निर्णयमा पुगे ।
राज्य श्रोतको दोहन गर्नेहरुलाई कांग्रेसले संरक्षण गरिरहेको भन्दै जनताको अधिकारका लागी उनले बाटो मोडेका हुन् ।
यतिबेला कांग्रेस नेतृत्व एउटा होनहार युवालाई गुमाईरहँदा उन्मुक्ति पार्टीले उनलाई कांग्रेसबाट उन्मुक्ति त दिलायो अब जनतालाई उन्मुक्ति दिलाउने भुम भण्डारीको सफर कति उन्मुक्त रहन्छ भविष्यले देखाउला ।