दानी जयकेश सिंह
नेपालगञ्ज – मान्छे कहिले सन्तुष्ट र खुशी हुन्छ ? सबैलाई लाग्दो हो, टन्न सम्पति जोडेपछि, आवश्यकता पूरा गर्न सक्ने र चाहेको बेला खर्च गर्न सक्ने भएपछि । सम्पति भएपछि नै खुशी र सन्तुष्ट भइन्छ भन्नेको बाहुल्य नै छ भन्दा हुन्छ ।
पैसाले खुशी पूरा गर्ने भएर त होला, अहिले मान्छे विहानदेखि बेलुकासम्म भागदौड गरिरहेका छन् । जसरी हुन्छ धनसम्पति जोड्न लागि परेका छन् । व्यक्ति नभएर समाज नै यही गतिले अघि बढिरहेको छ ।
नेपालगञ्जका जयकेश सिंहको कुरा धन सम्पतिले मात्रै खुशी र सन्तुष्टि मिल्दैन । मान्छेलाई युगौयुगसम्म सम्झिने काम गर्दा नै खुशी मिल्छ । जुन काम जयकेशले गरेका छन् । पैसाका लागि दौडिरहेको समाजमा जयकेशले आफूसँग भएको करोडौंको सम्पति दान गरेका छन् । ‘रिटायर्ड’ मास्टर जयकेशले नेपालगञ्ज र डुडुवामा गरी चार विगाह १२ कठ्ठा जग्गा दान गरेर युगौयुगसम्म सम्झिने गरेका छन् ।
डुडुवा गाउँपालिका वडा नं. ६, असमानपुरमा ३ हजार पाँच सय वटा रुखविरुवासहित चार विगाह २ कठ्ठा जमिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई दिएका छन् । जहाँ जयेन्दु बाल सुधार गृह बनेको छ । जयकेश र उनका श्रीमती इन्दु सिंहको नामलाई जोडेर जयेन्दु बाल सुधार गृह बनाइएको छ । बालक र किशोर अवस्थामा अपराध गर्न पुगेकाहरुलाई त्यहाँ राख्ने गरिएको छ । अहिले २ सय ११ जना बसिरहेका छन् । जयकेशले नेपालगञ्जमा मानव सेवा आश्रमलाई १० कठ्ठा जग्गा दिएका छन् । कोही छैन, केही छैन भने त्यस्तालाई मानव सेवा आश्रमले हेर्ने गर्दछ । जयकेशसँग अब एउटा सात धुरमा बनेको घर छ । यो घर पनि पछि दान नै गर्ने उनको विचार छ । सबै सम्पति दान गरेका जयकेश बृद्ध अवस्थामा बृद्ध आश्रम बस्ने बताउनुहुन्छ ।
जयकेशका सन्तान छैनन् । तीन बच्चा गर्भमा तुहियो । सात महिनामा जन्मेर एक बच्चा एक घण्टामै वित्यो । सन्तान सुख भएन । जयकेशको सम्पति अरु नभएका भने होइनन् । उनका भतिजाहरु धेरै छन् । उनले केही आफन्त भन्दा सबै आफन्तीलाई जोड्ने काममा सम्पति लगाएका छन् । आफूले आफ्नो सम्पति ठीक ठाउँमा लगाएको जयकेशको भनाई छ । ‘अति सर्वत्र बर्जयेत’ अर्थात कुनै पनि चिज धेरै भयो भने नोक्सानदायी (विनास) हुन्छ भन्ने जयकेशलाई लाग्छ ।
जयकेशको पूर्खा टन्न सम्पतिबाट जिरोतिर ढल्केका थिए । झण्डै पाँच सय वर्ष अघि भारतको मैनपुर स्टेटबाट बाँकेमा आएका उनका पूर्खा चार मौजाका मालिका थिए । असमानपुर, सुन्दुरपुर, सुर्जपुर र प्रसनपुर उनकै पूर्खाको मौजा थियो । हजुरबुवा बच्चा सिंहबाट बुवा तप्तबहादुर सिंको पालामा आइपुग्दा घरकलहले सबैंजसो सम्पति रित्तिएको थियो । तीन विगाह पुख्र्यौली जमिन पाएका जयकेशले मास्टरी गरेर जोडेको जग्गा समाज विकासमा लगाएका हुन् ।
जयकेश भन्नुहुन्छ, मैले सबै सम्पति दिएर नाम र सेवा गरेको छु । बृद्धाअवस्थामा बस्ने र खाने चिन्ता मलाई छैन । कुनै बृद्धाश्रममा
बसिहाल्छु ।
अहिलेको बैश्य युगमा समाज कल्याणमा आफ्नो सम्पति दान गर्ने जयकेश सिंहलाई सलाम नगर्ने सायदै कोही होलान् ।