बाँके–३ मा किस्मत कि किशोर ?, प्रदेशमा पनि उस्तै टक्कर

नेपालगञ्ज – बाँके क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र एमाले राप्रपा गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति चुनावी मैदानमा छन् । खजुरा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका दुई वटा वडाले यी दुई उम्मेदवारलाई मत हाल्छन् ।

२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेका नन्दलाल रोकाय ३१ हजार ६ सय १ मत ल्याएर विजयी भएका थिए । यतिबेला नेकपा थियो । कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत ल्याएर रोकायलाई पछ्याएका थिए ।

पछिल्ला चुनाव हेर्दा यो क्षेत्रमा एमाले र कांग्रेसकै प्रतिस्पर्धा देखिन्छ । स्थानीय तहको कुरा गर्दा बैजनाथ र जानकीमा कांग्रेस र खजुरामा गठबन्धनबाट माओवादीले जितेको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा यी तिनै पालिकामा एमालेले जितेको थियो ।

सत्ता गठबन्धनबाट बर्दियाका राठौर उम्मेदवार हुँदा विरोधीले ‘टुरिष्ट’ उम्मेदवार भनेर प्रचार गरिरहेका छन् । सत्ता गठबन्धनमा इमान्दारिता भयो भने राठौरको पहला भारी देखिन्छ । खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष कक्षपति कमजोर उम्मेदवार होइनन् । यो क्षेत्रमा एमालेको संगठन बलियो नै छ ।

गठबन्धनका उम्मेदवार राठौरले बर्दिया घर भएपनि बाँके नेपालगञ्जमै खाइखेली हुर्किएकाले यहाँका मतदाताले विरोधीले प्रचार गरेजस्तो भेदभाव नगर्र्र्ने विश्वास गर्छन् । राठौर गठबन्धनका दललाई कडाई गर्न लागि परेका छन् ।

एमालेले स्थानीय उम्मेदवार रहेकाले सहज नै मानेको छ । कक्षपतिले खजुरा गाउँपालिकाको अध्यक्ष हुँदा राम्रो काम गरेकाले जनताले विश्वास मान्ने उसको दावी छ । यो क्षेत्रको निर्वाचनमा प्रदेश उम्मेदवारको लफडाले पनि माने राख्ने देखिएको छ । गत निर्वाचनलाई हेर्दा प्रदेश क र ख मा नेकपाका उम्मेदवार विजयी भएका थिए । यसपाली सत्ता गठबन्धनले क मा माओवादी र ख मा कांग्रेसलाई भाग पारेको छ ।

प्रदेश क मा सत्ता गठबन्धनबाट माओवादीका आइपी खरेल र खबाट कांग्रेसका बादशाह कुर्मी उम्मेदवार छन् । एमालेबाट क मा रत्न खत्री र ख मा भीम वली उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता दलबहादुर सुनार दुई दिनअघि मात्रै माओवादी गएपछि समिकरण बिग्रिएको छ । २०७० सालमा एमालेबाट यही क्षेत्रको सांसद बनेका सुनार समाजवादीमा विद्रोह गर्दै माओवादीमा प्रवेश गरेपछि अब माओवादीको उम्मेदवार खरेल कि सुनार भन्ने विवाद देखिएको छ । प्रष्ट देखिने गरी नै माओवादी दुई भागमा बाँडिएको छ । एउटाले खरेल र अर्को पक्षले सुनारलाई बोकेको छ । आफ्ना उम्मेदवार नै माओवादीमा गएपछि समाजवादी पनि दुईतिर बाँडिएको छ । केहीले सुनारलाई नै मत हाल्ने मनस्थिति बनाएका छन् भने केहीले उनलाई हराउन लाग्ने प्रतिक्रिया दिएका छन् ।

प्रदेशमा कांग्रेसबाट गएको निर्वाचनमा प्रदेश उम्मेदबार बनेका चन्तराम थारु नागरिक उन्मुक्ति जानुले पनि केही असर पर्ने देखिन्छ । गएको चुनावमा उनी एक हजार ६ सय ९४ मतले पराजित भएका थिए । चन्तराम रेशम चौधरीको पार्टीमा जादा सत्ता गठबन्धनलाई ठूलो घाटा लाग्ने देखिन्छ । गएको चुनावमा संघमा प्रतिस्पर्धा गरेका बादशाह कुर्मी यसपाली प्रदेशमा झरेका छन् । उनको मतलाई जसपाका विजय पाठकले काट्ने देखिन्छ । छिमेकी रहेका कुर्मी र पाठकको लडाईले प्रदेशको निर्वाचनको नतिजामा केही हेरफेर गर्न सक्छ ।

गएको निर्वाचन र हालै सम्पन्न स्थानीय तहको मतले सत्ता गठबन्धन बलियो देखिएपनि उम्मेदवार मन नपरेर पार्टी छोडेका, अर्को पार्टीबाट चुनावी प्रतिस्पर्धा गरेका, उम्मेदवारीको चरण सकिएपछि पार्टी परिवर्तन गरेकाजस्ता कारणले गठबन्धनलाई समस्या पार्न सक्छ । कांग्रेसका सहमहामन्त्री र एमालेका जिल्ला अध्यक्ष दुवै हेभिवेट नै मानिन्छन् । यी दुईमध्ये कसले बाजी मार्छन्, त्यो त मंसीर ४ गतेपछि नै थाहा हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !