निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय २१ जना लाभान्वित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय २१ जना लाभान्वित भएका छन् ।

स्थानीय राम गोपाल इ.मि. स्कुल परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीय ग्रामीण समुदायका सर्वसाधारण स्वास्थ्य परीक्षण र उपचार सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ ३०६ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा महिला १६३ जना र पुरुष १४३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसैगरि आँखा स्वास्थ्य तर्फ २१५ जनाको परीक्षण गरिएको थियो । सो मध्ये महिला १२३ जना र ९२ जना पुरुषले आँखा परीक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।

उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षका पुरुष र ८० वर्षकी महिलाले तथा सबभन्दा कम उमेर ३ महिनाकी बालिकाले स्वास्थ्य परीक्षण र आँखा परिक्षण गराएका थिए ।

राम गोपाल इ.मि. स्कुलका संस्थापक राम गोपाल वर्माको आँखा परीक्षण गरी शिविरको शुभारम्भ गरिएको थियो । उल्लेखनयि छ, उक्त स्कुलका संस्थापक वर्माले स्कुलका लागि आफ्नै १३ कठ्ठा जमीनमा करीब तीन करोडको निजी खर्चमा स्कुल भवन निर्माण गरिएको छ । करीब ३०० जना विद्यालय रहेको उक्त स्कुलका गरीब तथा जेहेन्दार विद्यालयका लागि २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

शिविर प्रारम्भ हुनु अघि कार्यक्रमको बारेमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले प्रकाश पार्नु भएको थियो । सो अवसरमा अध्यक्ष शर्माले राम गोपाल इ.मि. स्कुलको लागि केन्द्रको तर्फबाट आकस्मिक स्वास्थ्य समस्याको लागि प्रधानाध्यापक राजस वर्मालाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भयो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि १६ थरी आौषधिहरु उपलब्ध गरिएको छ ।

सो अवसरमा उक्त स्कुलका संस्थापक वर्माले स्कुलका विद्यार्थी तथा अभिभावक र गाउँलेहरुका लागि संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट आफ्नो वडाका बासिन्दाले आफ्नै घर आँगनमा निःशुल्क स्वास्थ्य सेवा पाउने अवसर पाएकोमा आयोजक संस्था प्रति आभार व्यक्त गर्नु भयो ।

शिविरमा नेपालगञ्ज मेडिकल कलेजका डा. मोहम्मद आजाम, डा. हर्षिद् पाठक र नेत्ररोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले स्वास्थ्य परीक्षण गर्नु भएको थियो भने स्टाफ नर्सहरु सुश्री स्मारिका श्रेष्ठ र सुश्री ज्योति चौधरीले स्वास्थ्य परीक्षणमा सहयोग गर्नु भएको थियो ।

त्यसैगरि स्थानीय स्तरमा संयोजन गर्ने राधिका गोविन्द धाम वृद्ध सेवा समाज तथा सत्संग आश्रम एवम् गौशालाका अध्यक्ष हरि नारायण शर्मा, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका कार्यक्रम संयोजक श्रीधर गौतम, सामुदायिक स्वास्थ्य सेवा केन्द्रका रमण कुमार शर्मा, राजेन्द्र कुमार वर्मा, नितेश गिरी, निखिल जायसवाल, अञ्जना गुरुङ, निमा चौधरी तथा स्कुलका शिक्षकहरुले सहयोग गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !