चुनावको मुखमा सिलान्यास र उद्घाटनको ‘राजनीति’

नेपालगञ्ज – भदौ २० गते बाँकेमा एकै दिन चार वटा पुलको सिलान्यास भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले दिनभरी दौडादौड गरेर पुलको सिलान्यास गर्नुभयो ।

बजेटको सुनिश्चित नहुँदै पुल सिलान्यास भएका छन् । सिलान्यास भएका पुल कहिले बन्छन्, कुनै टुंगो छैन । यद्यपि, मन्त्री राईले प्रक्रिया अघि बढेकाले बजेटमा कुनै समस्या नरहेको दावी गर्नु भएको छ ।

क्षेत्र नं. २ अन्तर्गत पर्ने डुडुवा गाउँपालिकामा एकै दिन चार वटा पुल सिलान्यास गर्नुलाई अर्थपूर्ण मानिएको छ । यो मन्त्री राईको निर्वाचन क्षेत्र हो । यहाँको स्थानीय सरकारका प्रमुख नरेन्द्र चौधरीसँग मन्त्री राईको ‘सम्बन्ध राम्रो’ छैन । जनताको मन जित्न मन्त्री राईले पुल बनाइदिन खोजेका छन् । सिलान्यास गरेको पुल बने त जनतालाई राहत नै हुन्छ ।

टेपरीमा स्थानीय सरकार र संघीय सरकारको पुल बनाउने प्रतिस्पर्धा नै देखियो । गाउँपालिकाले एक सय २० मिटरको पुल बनाउन डीपीआर नै तयार पारेको छ । ठेक्का हुने प्रक्रियामा थियो । पालिकाले संघ र केन्द्रसँग सहायता मागिरहेको थियो । त्यही ठाउँमा मन्त्री राईले आफ्नै हिसावले पुलको सिलान्यास गरेका छन् । यसले अझ मन्त्री राई र पालिका प्रमुख चौधरीको पुरानो द्वन्द्वमा घिउ थप्ने काम गरेको छ ।

त्यो दिन मन्त्री राईले टेपरी र चौफेरी, नौरीगौडी र कैरातीपूर्वा, राजारामपूर्वा र हल्कारापूर्वा, अमराहवादेखि लडिहाघाट जोड्ने ४ वटा पक्की पुल सिलान्यास गर्नु भएको थियो ।

डुडुवा गाउँपालिकाका प्रमुख चौधरीले पटक–पटक मन्त्री हुँदा केही नगरेका राईले चुनावको मुखमा आएर हचुवाका भरमा पुलको सिलान्यास गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । ‘जनता सचेत भइसकेका छन् । हचुवाका भरमा गरिएका सिलान्यासबाट जनता प्रभावित हुँदैनन्, अध्यक्ष चौधरीले भन्नुभयो, अहिलेसम्म कुनै विकास नगरेका राईले अब गर्छन् भनेर जनताले पत्याउँदैनन् ।’

मन्त्री राईले राप्ती नदीको सिधनियाघाटमा पनि नयाँ पुलको सिलान्यास गर्नु भएको छ । अहिले चलिरहेको पुल साँघुरो भएको निष्कर्ष निकालेर त्यही समानान्तर हुने गरी ७ सय मिटर लामो नयाँ पुल बनाउने भनिएको छ । साढे सात मिटर चौडा उक्त पुलको ठेक्का आव्हान गरिएको छ । सिधनियाघाटको नयाँ पुल हुलाकी राजमार्ग कार्यालयले बनाउँदैछ । हुलाकी राजमार्ग, नेपालगञ्जका सूचना अधिकृत रामसागर हरिजनले सबै प्रक्रिया पूरा गर्न चार महिना लाग्ने भएकाले चुनाव पछि मात्रै निर्माण शुरु हुने जानकारी दिनुभयो ।

यसअघि भदौ ४ गते मन्त्री राईले नेपालगञ्जमा पाँच वटा आकाशे पुलको सिलान्यास गर्नु भएको थियो । आकाशे पुलका लागि बजेटमा शंका नगर्न भनिएपनि पुल कहिले बन्छन्, कुनै निश्चित छैन ।

नेपालगञ्ज निवासी मन्त्री राईमात्रै होइन, अरु मन्त्री आएर पनि बाँकेमा हचुवाका भरमा सिलान्यास र उद्घाटन गरेका छन् । भदौ १२ गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले कोहलपुरमा मालपोत र नापी कार्यालयको उद्घाटन गर्नुभयो । त्यो अझै सञ्चालनमा आएको छैन । उद्घाटन त भयो, न बजेट छ । न त कर्मचारी र पूर्वाधार नै । चुनाव लक्षित उद्घाटन भन्दा फरक पर्दैन ।

भदौ २३ गते जानकी गाउँपालिकामा शहरी विकास मन्त्री मेटमणि चौधरीले सिकलसेल रोगको अनुसन्धान तथा उपचार केन्द्रको सिलान्यास गर्नुभयो । यसको पनि बजेटको सुनिश्चितता छैन ।

बाँकेमा देखिएको हतारको सिलान्यास र उद्घाटनको राजनीतिले तत्कालका लागि जनता प्रभावित भएपनि दीर्घकालिन रुपमा (नबन्दासम्म) सिलान्यासकर्तालाई गिज्याइरहने देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !