सहकारी पीडितले अदालतको गेटमै पुगेर चौधरीलाई घेरे
नेपालगञ्ज – सहकारी वित्तिय विकास संस्था लिमिटेडका बचतकर्ताले अध्यक्ष हरदेवबक्स चौधरीलाई घेरेका छन् ।
अदालतमा तारिख दिन आएका चौधरीलाई अदालतको गेटमै पुगेर पीडित बचतकर्ताले घेरेका हुन् । उनीहरुले चौधरीलाई घेरेर ‘पैसा कहिले पाउँछौं’ भनेर प्रश्न गरेका छन् ।
तारिख दिएर निस्केका अध्यक्ष चौधरीले कानूनी प्रक्रियामा गएकाले अदालतबाट हुने फैसला अनुसार नै रकम पाउने जवाफ फर्काएका थिए । अध्यक्ष चौधरी २१ लाख धरौटीमा छुटेका छन् । सहकारीमा ५८ करोड हिनामिना भएको छ । ४१ जनाविरुद्ध मुद्दा परेको छ । ६ जना जेलमा छन् भने अरु धरौटीमा जुटेका छन् ।
सहकारी पीडित संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाले चौधरी अदालतमा आउँदैछन् भन्ने थाहा पाएपछि बचतकर्ताहरु आएर घेरेको बताउनुभयो । ‘आफ्नो पैसा फिर्ताका लागि बचतकर्ताहरु तीन वर्षदेखि सडकमा छन् । उनीहरुले चौधरीसमक्ष आक्रोश पोखेका हुन्, शुक्लाले भन्नुभयो, अदालत प्रक्रिया ढिला हुँदा पीडितले न्याय पाइरहेका छैनन् ।’