कोभिडका लागि छुट्याएको वार्डमा डेंगुका बिरामी

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले कोभिडका लागि छुट्याएको वार्डमा डेंगुलगायतका विरामी राखेको छ ।

कोभिडको बिरामीहरु बढ्न थालेपछि अस्पतालले त्यसका लागि एउटा छुट्टै वार्ड छुट्याएको थियो । अहिले आएर कोभिडको भन्दा डेंगुलगायतका विरामी बढेपछि उक्त वार्डमा ती विरामीलाई राखिएको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. बद्री चापागाईले अस्पतालमा डेंगुलगायतका विरामीलाई राख्ने ठाउँ नभएपछि कोभिडका लागि छुट्याइएको वार्डमा राखिएको जानकारी दिनुभयो । ‘यो विरामी बढ्ने सिजन हो । भेरीमा विरामी बढेर राख्ने ठाउँ छैन, मेसु डा. चापागाईले भन्नुभयो, कतै राख्ने ठाउँ नभएपछि कोभिडका लागि छुट्याइएको वार्ड खोल्यौ । चार घण्टामै २२ बेड भरिए ।’

भेरी अस्पतालमा १ सय ५० बेड छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा विरामी बसेका छन् ।

देशभरी नै डेंगुका विरामी बढेका छन् । लुम्बिनीमा ९ सय ३३ जना संक्रमित रहेको चिकित्सकहरुले बताएका छन् । डा. राजन पाण्डेले सन् २००४ मा एक जना डेंगुको बिरामी फेला परेको नेपालमा २०१९ देखि ह्वात्तै बढेको जानकारी दिनुभयो । डा. पाण्डेका अनुसार, डेंगुका ९० प्रतिशत विरामीमा लक्षण देखिदैन । लक्षण देखिएपनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत विरामीलाई गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।

अस्पतालमा डेंगुलगायतका विरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेंगुबाट दुई जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !