कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले कटुवा पेस्तोल, भरुवा बन्दुक, छर्रा र बारुदसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, भगवानपुरका प्रहरी निरीक्षक बीरबहादुर सुनारको कमाण्डमा खटिएको टोलीले नरैनापुर गाउँपालिका वडा नं. १, बानियागाउँबाट छब्बीलाल केवटलाई हतियारसहित पक्राउ गरेको हो ।

हतियार लुकाइ राखेको विशेष सूचना पाएपछि भगवानपुर, सुइया बघौडा र प्रहरी चौकी लक्ष्मणपुरबाट गएको टोलीले केवटको घर खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, लोडगरी राखेको भरुवा बन्दुक, सय ग्राम बारुद, सिसा र फलामको गोली (छर्रा) पाँच सय ग्राम, पटवाका ९ थान बरामद गरिएको छ ।

प्रहरीले केवटविरुद्ध हातहतियार तथा खरखजना कसुर मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !