असोजदेखि बाँकेमा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन

नेपालगञ्ज – बाँकेमा असोज पहिलो सातादेखि वडाबाटै राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, काठमाडौंले मंगलबार नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय बैठकमा उक्त कुरा बताइएको हो ।

विभागका महानिर्देशक तिर्थराज भट्टराईले एउटा वडामा दुई वटा स्टेशन राखेर विवरण संकलन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म देशभरबाट राष्ट्रिय परिचयपत्र बनाउनका लागि ८५ लाख ९० हजार मानिसको विवरण संकलन गरिएको छ । ३८ जिल्लामा विवरण लिने काम सकिएको छ भने १२ वटा जिल्लामा चलिरहेको छ ।

विभागले चालु आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ ।
१६ वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचयपत्र बनाइन्छ । राष्ट्रिय परिचयपत्र बनाउदा भरिने विवरणले गर्दा डुब्लीकेसन नहुने विश्वास गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाह, नेपाली सेना, प्रहरी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पार्टी प्रतिनिधिहरुको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !